प्रतिक्रियावादीहरुले माओवादीलाई बदनाम गराएर परिवर्तन उल्ट्याउन खोजे : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीलाई बदनाम गराएर गणतन्त्र र संघीयता उल्ट्याउने प्रयास भइरहेको बताउनुभएको छ । गणतन्त्र, संघीयतालगायतका राजनीतिक परिवर्तन उल्ट्याउने षड्यन्त्रस्वरूप प्रतिगामी शक्तिहरु माओवादीलाई बदनाम गराउन लागिपरेको उहाँले आरोप लगाउनुभयो ।
आज महोत्तरीको गौशाला नगरपालिकाले निर्माण गरेको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले स्थानीय सरकारले उत्कृष्ट काम गरेर त्यस्ता शक्तिहरुलाई परास्त गर्नुपर्ने पनि बताउनुभयो । एमाले अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै उहाँले गत वर्ष पुस ५ गते संविधान कुल्चेर गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व उल्ट्याउन षडयन्त्र गरेको तर जनताको बलमा त्यस्तो प्रयास पराजित भएको बताउनुभयो ।
सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुगेको नरुचाउने शक्तिहरु काठमाडौंबाटै जनतामाथि शासन गर्न पाइयोस् भन्ने सोचका साथ लागिरहेको भन्दै उहाँले निर्वाचनबाट त्यस्ता पार्टी र नेतालाई परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।
एउटै मात्र सिंहदरबार होस् र काठमाडौंमा बसेर त्यहीँबाट जनतालाई शासन गर्न पाइयोस् भन्ने नेताहरु अहिले पनि छन् । गत वर्ष पुस ५ गते संविधान कुल्चेर परिवर्तन उल्ट्याउने प्रयास पनि गरे । तर, हामी लाखौं जनता सडमा उत्रेर खबरदारी गरेपछि उनीहरु परास्त भए । अहिलेसम्म आइपुग्दा ती प्रवृत्ति र पात्रहरु कमजोर भइसकेका छन् । तर, उनीहरुले कुनै पनि बेला फेरी षडयन्त्र गर्न सक्ने खतरा छ । त्यसैले चुनावबाट तिनीहरुलाई परास्त गर्नुपर्छ’, अध्यक्ष प्रचण्डले भन्नुभयो ।
पछिल्लो पाँच वर्षमा स्थानीय सरकारले धेरै राम्रा काम गरेको दृष्टान्त दिँदै उहाँले त्यसले संघीयता सफल भएको पुष्टि गरेको पनि बताउनुभयो । अझै राम्रो काम गरेर संघीयता विरोधीहरुलाई प्रमाणसहित जवाफ दिन पनि प्रचण्डको आग्रह छ ।
हालै सार्वजनिक भएका मुलुकभरका उत्कृष्ट स्थानीय तहमध्ये धेरैजसो माओवादी केन्द्रले जितेका गाउँ र नगरपालिका उत्कृष्ट देखिएको भन्दै उहाँले जसको नीति उसैको नेतृत्व हुँदा संघीयता पनि बलियो हुने अनि विकास र समृद्धि पनि हाँसिल गर्न सकिने भएकाले आगामी निर्वाचन माओवादीले जित्नुपर्ने बताउनुभयो ।
‘जनता जागेपछि प्रतिक्रियावादी जाली–फटाहाहरुले चाहेर पनि यो परिवर्तन उल्ट्याउन सक्दैनन् । त्यसैले राम्रो काम गर्नुपर्छ र जनतालाई स्थानीय सरकारप्रति भरोसा जगाउनुपर्छ । त्यसले संघीयतालाई अझै बलियो बनाउन मद्दत गर्छ’, उहाँले भन्नुभयो ।
जनयुद्धका शहीद, बेपत्ता, घाइते, अपांगको सपना पूरा गर्न स्थानीय तहमा राम्रो काम गरेर जनताको मन जित्न पनि उहाँले पार्टीका नेता–कार्यकर्तालाई विशेष अपिल गर्नुभयो । आफ्नो सम्बोधनको क्रममा प्रचण्डले बैशाख ३० को निर्वाचन माओवादीका लागि विशेष हुने भन्दै पार्टीले चुनाव हारे गणतन्त्र, संघीयतालगायतका परिवतर्नका एजेण्डाले पनि हार्ने भएकाले सामान्य रुपमा नलिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
‘अरुका लागि यो चुनाव सामान्य होला, तर, माओवादीका लागि सामान्य होइन । हामीले हार्दा गणतन्त्र, संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व, मधेशी, महिला, दलित, उत्पीडित समुदाय सबैले हार्छ । त्यसैले प्रतिक्रियावादी जाली–फटाहाहरुलाई मत दिएर माओवादीले उठाएका एजेण्डा कमजोर नबनाउनुहोला । जसले मुद्दा ल्यायो उसैलाई भोट हालेर नेतृत्वको अवसर दिनुहुनेछ भन्ने विश्वास लिएको छु’, अध्यक्ष प्रचण्डले भन्नुभयो ।
माओवादीलाई बदनाम गराएर गणतन्त्र र संघीयतामाथि प्रहार गर्न खोजिए पनि त्यसलाई सफल हुन नदिने उहाँको दाबी छ ।
टिप्पणीहरू