चुनावसँगै सिमानामा तस्करी बढ्यो

चुनावसँगै सिमानामा तस्करी बढ्यो

चुनाव लाग्यो भन्नासाथ नेपाल–भारत सीमा क्षेत्रमा फेरि तस्करी बढ्न थालेको छ । यस्तो हर्कत विशेषगरी कपिलवस्तु, नवलपरासी र रुपन्देहीको सीमा क्षेत्रमा अन्यत्रको भन्दा बढी देखिएको हो । अहिले विशेषगरी सुपारी यताबाट भारत ओसार्न थालिएको छ ।

लाखौं क्विन्टल सुपारी नेपालमा उत्पादन हुँदैन । विदेशबाट आयात गरेर चोर बाटोबाट भारत पुर्याइने हो । यसरी तस्करी गर्नेलाई चुनावको घोषणा गरेपछि खुदो पल्टिने गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको जिल्ला भएकाले रुपन्देहीमा तुलनात्मक रुपमा कम भए पनि तस्करी चलिरहेको प्रहरी स्रोतले पनि बताएको छ ।

तुलनात्मक रुपमा लुम्बिनी प्रदेशका भारतीय सीमा जोडिएका सबैजसो जिल्लामा तस्करी बढेको हो ।

सुपारीलगायतका भारत तस्करी हुने सबैजसो आइटम एलसी खोलेर विदेशबाट ल्याइन्छ । नेपालमा भित्र्याएपछि राति बोर्डरबाट खुल्लमखुल्ला तस्करी गरेर उता पुर्याउने गरिएको छ । विशेषगरी अधिकांश त्यस्ता सामान सिंगापुर हुँदै नेपाल आउने गरेको छ ।

पछिल्लो दिनमा कालो दाल,रहरको दाल,सुकुमेल,बदाम,मरिच,केराउ एलसी खोलेर विदेशबाट ठूलो परिमाणमा ल्याइएको छ । भारतमा ती वस्तु विदेशबाट ल्याउन पाईंदैन । तर त्यहाँका बजारमा त्यसको माग अधिक छ । त्यसैले ठूलो सेटिङमा उक्त तस्करी भएको सहजै अनुमान लगाउन सकिन्छ ।

केही समय अघिसम्म अर्थ मन्त्रालयले बन्द गरेको ती पदार्थ आयातको प्रतिबन्धलाई अहिले खुल्ला गरिएको छ । त्यसैले यस्तो तस्करी सामान्य सेटिङमा नहुने प्रहरीका उच्च अधिकारीहरु नै स्वीकार्छन् । अवकाशप्राप्त एक जना डिआइजीले भने,‘उताका मुख्यमन्त्री र यता पनि ठूलै तहमा सेटिङ हुन्छ । यसमा ठूलो लाइन र खेलोफड्को छ ।’

कुनै निकायले अवरोध पुर्याएमा तस्करहरुले उक्त निकायको हाकिमलाई आफ्नो पक्षमा पार्न ज्याकेटभरि नोट हालेर घुस खुवाउन पुग्ने गरिएको अवकाशप्राप्त सरकारी अधिकारीहरु स्वीकार्छन् । सबै पक्ष बिकेकाले त्यस्तो तस्करी मौलाएको स्रोतले जनआस्थासँगको कुराकानीमा उल्लेख गरेको छ ।

उता नेपालगञ्ज क्षेत्रमा नदीजन्य उत्खननको चरम लुट भएको छ । तर सबै चुपचाप हुनुलाई पनि उनले उदाहरणको रुपमा उल्लेख गरेका हुन् । केही नभएकाहरुले यसबीच घर ठड्याएका र महँगो गाडी किनेकोलाई उनले त्यसैको उपज भनेका छन् ।

ती डिआइजी भन्छन्,‘मुलुकको समग्र क्षेत्र ध्वस्त भएको छ । माथिदेखि तलसम्म कसरी पैसा आउँछ भनेर लागेपछि हुने यस्तै हो ।’

टिप्पणीहरू