किन हुन्छ चञ्चल चञ्चल करिष्माहरूको मन ?

किन हुन्छ चञ्चल चञ्चल करिष्माहरूको मन ?

– दीपक खनाल

कुन मुडमा हो, केही वर्षअघि लेखेको थिएँ एउटा गीत (त्यसैको दुई पंक्ति) :

मान्छेलाई फसाउने मान्छेकै मन हो ।
मान्छेलाई फुटाउने नि त्यही कालो धन हो ।

हो, मान्छेलाई फसाउने मान्छेकै मन हो । पल शाहलाई उनकै मनले फसायो । मनलाई भुलाउन वा नियन्त्रण गर्न नसक्दा धेरै पल शाहले गल्ती, अपराध गरेका छन् । मनको क्षणिक आवेगलाई रोक्न नसक्दा धेरैले कानुनी कठघरामा पुग्नु परेको छ । कठघरामा नपुगेकाहरू पनि मुक्त कहाँ छन् र ? तनावरहित जिन्दगी कसले पो बाँचेका छन् र ! जुनसुकै क्षेत्रमा लागेकाहरू किन नहुन्, मनको दास भएका छन् । मनको दासत्व तोड्न नसक्दा धेरै मनकुमार, मनकुमारी, मनबहादुर, मनमायाहरू जिन्दगीका अनावश्यक दुखाइ र भोगाइले तड्पिरहेका छन्, जेलजस्तै जिन्दगी बिताइरहेका छन्, युगकवि कृष्ण सेन इच्छुकले लेखेजस्तै,

पर्खालभित्र होस्
अथवा त्यो पर्खालबाहिर होस्
के फरक पर्यो र ?
मित्र, सधैँ छातीमा चाँदमारी थापेको जिन्दगी
जहाँ गुजार्नु परे पनि त्यो जेल नै हुन्छ ।
कुनै अनाम देश होस्
अथवा त्यो प्रिय स्वदेश होस्
के फरक पर्यो र ?
मित्र, उत्पीडित समाजमा पददलित जिन्दगी
जहाँ बिताउनु परे पनि त्यो जेल हुन्छ ।

आध्यात्मिक गुरुहरू भन्नुहुन्छ– भौतिक शरीर देखाउने आवरण मात्र हो । त्यसलाई मनले ढाकेको हुन्छ । मनलाई भावनाले छोप्छ । भावनाभन्दा माथि चेतना हुन्छ । त्यसैले चेतना नै बिग्रियो भने भावना, मन, शरीर नै बिग्रन्छ । चेतना ढल्मलाएपछि मानिस भावनामा बग्छ । ऊ भावनामा बगेपछि मन चञ्चल चञ्चल हुन्छ । मन शहरको सडकजस्तै हो । सडकमा दिनहुँ हजारौँ हजार गाडी, पैदलयात्री ओहोरदोहोर गरे झैँ मनमा दिनहुँ ६० देखि ७० हजार वटा विचारको जुलुश लाग्दछ । ती जुलुशहरु सबै काम लाग्ने हुँदैनन् ।

बरु त्यसले मनलाई ढपक्कै ढाकिदिन्छ बादलले आकाश वा सूर्यलाई ढाके झैँ । जब मन सक्रिय हुन्छ तब मानिसको बृद्धि, विवेक निष्क्रिय हुन्छ । भावना चेतना (बुद्धि, विवेक) भन्दा ५ हजार गुणा शक्तिशाली हुन्छ । भावनामा दौडिएपछि मान्छेको चेतना गुम्छ, ओझेलमा पर्छ । भावनाको बहावमा बगेपछि मानिसले राम्रो, नराम्रो जे पनि गर्न सक्दछ । मन भाँडिएपछि जतिसुकै शक्तिशाली भएर पनि शरीरले केही गर्न सक्दैैन । त्यो मासुको थुप्रो वा जडबाहेक केही बन्दैन ।

आज हाम्रो देशमा भएको यही हो । सबैको चेतना हराएको छ । खासगरी राजनीतिक नेताहरूको चेतनाले काम गर्न छाडेर उनीहरू भावनामा बगेपछि मनले सिंगो शरीरलाई नचाइरहेको छ । मुढेबल भएर पनि तिनीहरूले केही गर्न सकेका छैनन् । कहिले निरंकुश जहाँनिया राणाशासनका विरुद्ध, कहिले झापा विद्रोह त कहिले जनयुद्धका नाममा बन्दूक उठाएकाहरू एक ठाउँमा मिल्न नसक्दा देशमा उस्तै अस्थिरता, बेरोजगारी, वैदेशिक हस्तक्षेप बढेको छ ।

भनसुन र घुसबिना जनताका कुनै काम नबन्ने भएपछि सामन्तीतन्त्र र गणतन्त्रमा तात्विक फरक देखिएको छैन । राम्रालाई भन्दा हाम्रालाई, प्रष्टलाई भन्दा भ्रष्टलाई, आलोचकलाई भन्दा चाकडीबाजलाई च्याप्ने संस्कारमा कुनै परिवर्तन भएको छैन । जसको शक्ति उसकै भक्ति र जसले हान्यो उसले जान्यो भन्ने उखान टुक्का चरितार्थ भएको छ ।

जनयुद्ध गरेका हौँ भन्नेहरू र बाँकी वैज्ञानिक समाजवादी क्रान्ति गर्छाैँ भनेर धक्कू लगाउनेहरूले समेत मनयुद्ध गर्न नसकेर वा आफैँलाई हराएर कालो धनकै लागि धनयुद्ध गरेपछि धेरै जनता, कार्यकर्ता, सहिद, अपागंता भएका व्यक्ति, घाइतेहरूको मन कुँडिएको छ । तिनीहरूको मन यतिसम्म फाटेको छ कि राजेन्द्र थापा र अरुणा लामाको मनजस्तै पुनः सिउनै नमिल्ने भएको छ :

पोहोर साल खुशी फाट्दा
जतन गरी मनले टालेँ
त्यही साल माया फाट्यो
त्यसलाई पनि मनले टालेँ
यसपाली त मनै फाट्यो
केले सिउने केले टाल्ने हो ?

यिनीहरूको मात्र कहाँ हो र ? मुलुकका प्रमुख राजनीतिक दल र तिनका नेताले चेतना गुमाएर भावना, मन र शरीर मात्र सक्रिय बनाउन खोज्दा आम जनताको मनमा शान्ति, खुशी, सन्तुष्टि पलाएको छैन । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समाजवादउन्मुख संविधान ल्याएर पनि त्यसको सही व्यवस्थापन गर्न नसक्दा, जनजीविकाका समस्याको संबोधन र समाधान हुन नसक्दा भर्भराउँदो युवा जनशक्ति दिनहुँ विदेश पलायन भइरहेको छ ।

मुलुकको एउटा वर्ग सधैँ उकासिने र अर्काे वर्ग तल धसिँदै जाने क्रम रोकिएको छैन । बल्ल बल्ल जुटेको कम्युनिष्ट एकता मन नै फाटेर टुटेपछि मुलुकमा राजनीतिक स्थायित्य र समृद्धि हुने आशा पालेकाहरूको मन भाँचिएर विचलित भएको छ । तिनीहरूको मनमा फ्रस्टेसन जन्मिएको छ । चञ्चलता बढेको छ । उकुसमुकुस भएको छ । के गरौँ के गरौँ, कहाँ जाऔँ कहाँ जाऔँ झैँ लागेको छ, लोकगायक ऋषि अधिकारी र कृष्णसुधा ढुंगानाले गाएजस्तै

धान झुलेको छ
काँ जाऔँ काँ जाऔँ लाइर’न्छ
मन डुलेको छ ।

जति रक्सी खाए पनि नशाले बाइ बाइ गरेपछि तिनीहरूको क्षणिक खुशी, आनन्द पनि बाइ बाइ हुन्छ । आज फेवातालमा ढुंगा चढे पनि, भोलि इलामको चिया बगानमा सेल्फी खिचे पनि, पर्सि बनभोज गए पनि निकपर्सि उस्तै हुन्छ मनको रंग, तरंग । मुलुकलाई नेतृत्व दिने राजनीति नै विवेक शून्य भएपछि आज मुलुकको अन्य जुनसुकै क्षेत्र पाँडे शर्माको भद्रगोल जस्तो बनेको छ । कुनै क्षेत्र वास्तविक क्षेत्रजस्तो छैन । नेता नेताजस्तो छैन, जोकर, कलाकार जस्तो छ, कलाकार नेताजस्तो छ ।

संघदेखि स्थानीय तहसम्मको राजनीति, आमा समूहदेखि युवा क्लवसम्मको सत्ता इमान्दार, कर्तव्यपरायण नेता, कार्यकर्ताको पहुँचमा छैन, व्यापारी, माफिया, तस्कर, दलाल, ठेकेदार (ठगदार) को हातमा छ । पत्रकार पत्रकार जस्तो छैन समाचार जस्तो छ । समाचार पत्रकार जस्तो छ । वकिल वकिल जस्तो छैन, न्यायालय न्यायालयजस्तो छैन । शिक्षालय शिक्षालय जस्तो छैन । स्वास्थ्य क्षेत्र सेवा क्षेत्र जस्तो छैन । यी सबै क्षेत्र कालाबजार जस्ता छन् ।

कर्मचारीतन्त्र लुटतन्त्र जस्तो भएको छ । समाजवाद उन्मुख संविधान भएको देशमा विपन्न नागरिक स्वास्थ्योपचार नपाएर मर्छ । गरिबको सन्तानले कखरा पढ्न पाउँदैन । कतिपय पुँजीवादी देशमा त राष्ट्रिय संकटका बेला नागरिकले राज्यको अभिभावकत्व पाउँछ भने जति कर तिरे पनि नेपाली नागरिकले आपतविपद्मा त परै जाओस् सामान्य अवस्थामा समेत पाउनुपर्ने सेवा सुविधा पाउँदैन । हामी कस्तो देशमा बाँचिरहेका छौँ मन दुखाई दुखाई ? जहाँ बैँकमै पैसा छैन ।

त्यो पैसा नेता, भ्रष्टाचारी, तस्कर, माफियाको घरमा छ कि, पानी ट्यांकीमा लुकाइएको छ कि, माटोमा गाडिएको हो कि, मुलुककै अर्थमन्त्रीलाई अत्तोपत्तो छैन । गृहमन्त्रालय चूँ बोल्दैन । अख्तियारलाई मतलवै छैन । आदि आदि । अनि यस्ता यस्ता विकृति विसंगति, बेथितिले भतभती पोलेर त होला अरुलाई मनोरञ्जन दिनेहरू नै स्थायी मनोरञ्जनको खोजीमा कहिले दायाँ कहिले बायाँ हुने गरेका ? यही भएर त होला करिष्माहरूको मन चञ्चल चञ्चल भएको, करिष्माहरूको मनले कहिले बाबुराम रोजेको, कहिले केपी ओलीलाई खोजेको ? सायद करिष्माहरूलाई नै थाहै छैन, थाहै हुँदैन पनि, डुलिरहने यो मन भोलि कोतिर हान्निने हो, कतातिर तानिने हो ?

आकाशमा उडी जाने ए चरी भन,

मनबिनाको धन ठूलो कि धनबिनाको मन ?

 

टिप्पणीहरू