चुनावी तालमेललाई लिएर सत्ता गठबन्धनमा खटपट
तालमेल गरेर चुनावमा जाने सैद्धान्तिक निर्णय गरेको सत्ता गठबन्धनमा सिट भागबण्डालाई लिएर खटपट शुरु भएको छ । गठबन्धनका शीर्ष नेताहरुको अस्ति सम्पन्न बैठकले तालमेलबारे गरेको निर्णय कार्यान्वयनका लागि जिल्ला तहमा भइरहेका प्रारम्भिक छलफलप्रति जसपा असन्तुष्ट भएपछि गठबन्धनमा खटपट उत्पन्न भएको हो ।
जिल्ला तहमा भइरहेका गठबन्धन बैठकमा आफ्नो पार्टीलाई वेवास्ता गरिएको भन्दै पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको असन्तुष्टि सार्वजनिक भएसँगै पाँच दलीय गठबन्धनलाई ’पहिलो गाँसमै ढुंगा लागेको’ हो । भट्टराईले गठबन्धनमा आवद्ध दलहरुबीच सम्मानजनक ढंगले सिट बाँडफाँड हुनुपर्ने बताउँदै भेदभाव गरिए त्यो आफ्नो दललाई स्वीकार्य नहुने चेतावनीसमेत दिनुभएको छ ।
२०७४ सालमा भएको स्थानीय निर्वाचनको नतिजाका आधारमा सिट बाँडफाँड अमान्य हुने भट्टराइको भनाई छ । रुपन्देहीको शुद्धोधनमा आयोजित पार्टी प्रवेश एवम् आमसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘२०७४ सालमा प्राप्त गरेको सिट संख्यालाई आधार मानेर चुनावमा गठबन्धन हुन सक्दैन ।’
अघिल्लो स्थानीय तहको निर्वाचन भएको चार वर्षपछि मात्र आफ्नो पार्टी गठन भएकाले त्यतिबेलाको सिट संख्यालाई आधार मानेर चुनावी गठबन्धन गर्न नहुने भट्टराईको तर्क छ । ‘हाम्रो दल २०७८ सालमा बनेको हो, त्यसैले २०७४ सालको सिट संख्या हामीलाई मान्य हुँदैन’, उहाँले भन्नुभयो ।
पेल्न खोजिए गठबन्धन तोड्ने पनि भट्टराईले चेतावनी दिनुभयो । ‘चुनावमा तालमेल गर्ने हो भने सम्मानजनक सिट चाहिन्छ, नभए पेलेर अघि बढ्न खोज्ने हो भने गठबन्धनको विकल्प खोज्छौं’, उहाँले भन्नुभयो ।
यसअघि भट्टराईले जिल्ला तहमा गठबन्धन दलहरुबीच भइरहेका छलफलमा आफ्नो दललाई उपेक्षा गरिएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो ।
टिप्पणीहरू