केन्द्रको गठबन्धन एउटा, रोल्पाली गाउँपालिकाको गठबन्धन अर्कै

केन्द्रको गठबन्धन एउटा, रोल्पाली गाउँपालिकाको गठबन्धन अर्कै

आगामी चुनावलाई ध्यानमा राखेर सत्ता गठबन्धनका दलहरुले तालमेलको पहल गरेका छन् । केन्द्र र केही जिल्लामा सत्ताधारी दलहरुबीच गठबन्धनको संयन्त्र बनेको छ । तर, रोल्पामा भने ठ्याक्कै उल्टो अवस्था देखिन्छ ।

जिल्लामा नेकपा माओवादी केन्द्र,नेपाली काँग्रेस,नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले संयन्त्र बनाएर तालमेललाई अघि बढाउने सहमति गरेकै दिन अस्ति गंगादेव गाउँपालिकामा छुट्टै अवस्था बनेको हो । गाउँपालिकामा काँग्रेसका जिल्ला उपसभापति हरि पुन,एमालेका गाउँ कमिटी अध्यक्ष रोशनकुमार ओली, नेपाली काँग्रेस गाउँ पार्टी सभापति मीनबहादुर खड्का र काँग्रेसकै गाउँपालिका अध्यक्षका आकांक्षी दीपेन्द्रबहादुर डाँगी बसेर माओवादी बाहेकको तालमेलनिम्ति छलफल गरेका छन् । पुन र ओली अघिल्लो स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित भएका थिए ।

काँग्रेसका हरि पुन लुम्बिनी प्रदेश कमिटी सभापति अमरसिंह पुनका भाइ हुन् । उक्त गाउँपालिका पुनको गृह पालिका पनि हो । अमरसिंह र हरि दुबै काँग्रेसभित्र शेखर कोइराला खेमाका हुन् । त्यसैले उनीहरु केन्द्रीय गठबन्धनको विरोधी देखिन्छन् । उनीहरुले गठबन्धन गर्ने नै हो भने रोल्पा जिल्लाभरि एमालेसँग गर्नुपर्ने, माओवादीसँग होइन भन्दै आएका छन् ।

यता काँग्रेसका किशोर आचार्य,माओवादीका सुरेन्द्र घर्ती थापा,नेकपा एकीकृत समाजवादीका हरिप्रसाद घर्ती र राष्ट्रिय जनमोर्चाका मेघनाथ विष्टले अस्ति संयुक्त विज्ञप्ति जारी गरेर जिल्लामा केन्द्रीय निर्देशनबमोजिम एमाले बाहेक गठबन्धनको पहल गरेका छन् । विज्ञप्तिमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र, राष्ट्रियता र गणतन्त्र खतरामा पर्नेगरी पछिल्लो समयमा गरेका कार्यको भण्डाफोर गर्ने उल्लेख छ ।

टिप्पणीहरू