भूपू डीएसपी थपलियाद्वारा भाँडभैलो

भूपू डीएसपी थपलियाद्वारा भाँडभैलो

नेपाल प्रहरीबाट अवकाशप्राप्त एक डिएसपीले एक मजदुरको मोटो रकम ठगी गर्ने नियत पालेका छन् । ‘भूपू डीएसपी गोविन्द थपलियाले आफ्नै कृषि फर्ममा काम गर्नेलाई करोडौं भुक्तानी दिन आनाकानी मात्र गरेका छैनन्, उल्टै गुण्डा लगाएर मलाई कुटपिट गराउने धम्की दिए’, पीडित दाबी गर्ने ग्रिल व्यवसायी हरिकुमार श्रेष्ठको आरोप छ ।

श्रेष्ठले ‘आफूमाथि जिउ ज्यानको खतरा रहेको’ भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदनसमेत दिएका छन् । आइतबार पीडित दाबी गर्ने श्रेष्ठले कामनपा–७ रुद्रमति मार्गस्थित ग्रामीण कृषिसेवा प्रा.लि.का सञ्चालक वर्ष ५५ का गोविन्दप्रसाद थपलियाले कृषि फर्मका लागि पाँचखाल नपा–११, काभ्रपलाञ्चोकमा घर टहरालगायत संरचना बनाउन लगाएर गुण्डा लगाई पैसा मागेको खण्डमा हात खुट्टा भाँच्ने धम्की दिइएको बताएका छन् ।

लामो समयदेखि कामदारको पारिश्रमिक, निर्माण सामग्रीको रकम झण्डै पाँच करोड बढी पाउन बाँकी रहेको उनको दाबी छ । २०२० जनवरी २९ का दिन बंगुर पालनका लागि खोर तथा कम्पाउण्ड निर्माण गर्न ६७ लाख ६९ हजार ९ सय २० रुपैयाँमा सम्झौता भएको देखिन्छ ।

तर, सम्झौतामा भनिएभन्दा बढी–बढी काम गराउँदै गएका थपलियाले ५० लाख बराबरको काम हुँदा २० लाख मात्र दिने गरेको भन्दै श्रेष्ठले थपे, ‘९ करोड १३ लाखको काम गरिसकेको छु तर ३ करोड ६८ लाख मात्र पाएँ । बाँकी रकमका लागि ताकेता गर्दा जिउज्यानकै धम्की दिए ।’

हरिकुमारले यसअघि जिल्ला प्रशासन कार्यालय, काभ्रेमा पनि निवेदन दिएका थिए । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम कार्यालयमा पनि यस्तै उजुरी परेको छ । पीडित श्रेष्ठले भने, ‘न प्रहरीले बोलाउँदा छलफलका लागि जान्छन्, न श्रममै उपस्थित भएका छन् ।’

सञ्चालक गोविन्द थपलियाले भने, ‘२१ वर्षदेखिको चिनजान हो, मेरो अन्य कार्यालयमा पनि उसले काम गरेको थियो तर अहिले आएर बेइमानी गर्न खोज्यो ।’ हरिकुमार श्रेष्ठले यसअघि निर्माण भइसकेका ४ वटा ठूला खोर थपलियाले भत्काएर सामान गायव पारेको आरोप लगाए ।

माओवादी प्रभाव क्षेत्रमा सरुवा भएको भन्दै जागिर हापेका थपलिया पछि अदालतको आदेशले बहाली भएका हुन् । अवकाशपछि कोशी नामको मेनपावर कम्पनीमा कार्यरत रहँदा पनि कामदार विदेश पठाउने विवादमा आइरहे ।

टिप्पणीहरू