२४ घण्टामै एमालेबाट फर्केका पित्तबहादुरले प्रचण्डलाई भेटे
एमाले प्रवेश गरेको २४ घण्टा नबित्दै माओवादी केन्द्रमा फर्किएका धादिङको रोराङ बेनिघाट गाउँपालिकाका अध्यक्ष पित्तबहादुर (हरि) डल्लाकोटीले आज खुमलटार पुगेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
अस्ति एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर ‘एमालेको सिन्दुर’ पहिरिएका डल्लाकोटी हिजो पुरानै घर फर्किएका थिए । हिजो विज्ञप्ति निकाल्दै उनले आवेगमा आएर एमालेमा जाने निर्णय गरेकोमा आत्मालोचनासहित अब माओवादीमै क्रियाशील हुने बताएका थिए । लगत्तै आज उनी प्रचण्डलाई भेट्न पुगेका हुन् । प्रचण्डसँगको भेटमा पनि डल्लाकोटीले आफूलाई केही मान्छेले परिवन्दमा पारेर बालकोट पुर्याएको तर कार्यकर्ता र जनताको दबाबले एकै दिनमा फर्किएको प्रष्टीकरण दिएको बताइएको छ ।
“केही मान्छेको परिबन्दमा परी बालकोट पुगेँ । यसमा मेरो गल्ती भो । तर,मलाई आफैले बनाएको पार्टी,कार्यकर्ता र निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन्, सुत्न पनि दिएनन् । मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु । र, २ दिनमै घर फर्केको छु”
‘अध्यक्षज्यू,केही मान्छेको परिबन्दमा परी बालकोट पुगेँ । यसमा मेरो गल्ती भो । तर,मलाई आफैले बनाएको पार्टी,कार्यकर्ता र निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन्, सुत्न पनि दिएनन् । मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु । र, २ दिनमै घर फर्केको छु’, बिहानै खुमलटार पुगेका डल्लाकोटीले भने ।
अध्यक्ष प्रचण्डले गल्ती स्वीकार गरेर फर्किएकोमा धन्यवाद दिँदै अब चुनावी अभियानमा लाग्न निर्देशन दिएको बताइएको छ ।
डल्लाकोटी गत स्थानीय तह निर्वाचनमा माओवादीबाट अध्यक्ष जित्ने धादिङ जिल्लाकै एकमात्र जनप्रतिनिधि हुन् । एमाले राजनीतिमा हुर्किएका उनी पछिल्लो १५ वर्षदेखि माओवादीमा छन् । डल्लाकोटी माओवादी केन्द्रमा बाग्मती प्रदेश सदस्यको जिम्मेवारीमा छन् ।
टिप्पणीहरू