मान्यज्यू भ्रष्टाचारको आरोपमा निलम्बन,बलात्कारमा फुक्काफाल

मान्यज्यू भ्रष्टाचारको आरोपमा निलम्बन,बलात्कारमा फुक्काफाल

सडक,पुललगायतका ठूला परियोजनाको ठेक्का लिने,समयमा काम फत्ये नगर्ने,गरे पनि टापटिप पारेर सरकारी ढुकुटी मास्ने पप्पु कन्स्ट्रक्सन प्रख्यातभन्दा पनि कुख्यात कम्पनीको रुपमा चर्चित छ । राजधानीमै तीनकुने नजिकैको बागमती पुलसहित कालिमाटी र टेकु जोड्ने पुलको दुर्दशा त्यहि कम्पनीले गराएको हो ।

हरिनारायण रौनियार उक्त कम्पनीका मालिक हुन् । उनी प्रतिनिधिसभामा सांसद पनि छन् । उनै रौनियारविरुध्दको भ्रष्टाचार मुद्दामाथि सोमबार सर्वोच्च अदालतमा बहस भएको थियो । उनी यसअघि भ्रष्टाचारको मुद्दामा डामिएकाले सांसद पदबाट निलम्बित छन् ।

सर्वोच्चमा हालिएको मुद्दामा रौनियारले आफूलाई निलम्बन गर्न नमिल्ने जिकीर लिएका छन् । आफू मुलुकको विशिष्ट संवैधानिक अंगको मान्छे भएकाले कर्मचारीसरह मुद्दा चल्नेबित्तिक्कै निलम्बन गर्न नमिल्ने उनको जिकिर छ । अस्ति पनि उनले ‘कर्मचारी र म एउटै हैसियतको होइन,संवैधानिक निकायको सांसद हुँ,’ भनेका थिए । तर पनि उनको अनुनयलाई सर्वोच्चले एउटा कानले सुनेर अर्को कानले उडाइदिएको छ ।

‘सांसद भ्रष्टाचारको आरोपमा स्वतः निलम्बित हुन्छ,बलात्कारमा हुँदैन, कानुन नै त्यस्तै छ ।’

कामु प्रधानन्यायाधीश दिपककुमार कार्की र न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दामा अदालतले अख्तियारले मुद्दा चलाएपछि स्वतः निलम्बन हुने आदेश सुनाएको छ । सो सङ्गै उनले हालेको रीट खारेज भएको छ ।

रौनियारको तर्फबाट चर्तित कानुन व्यवसायीहरुले बहस गरेका थिए । शम्भु थापा,चन्द्रकान्त ज्ञवाली,सूर्य कोइरालालगायत झण्डै एक दर्जन वकिलले रौनियारको पक्षबाट बहश गरेका थिए ।

संवैधानिक अंगका पदाधिकारी, सांसद,अदालतका न्यायाधीश र सरकारी कर्मचारीविरुध्द भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिनेबित्तिक्कै निलम्बन हुने कानुनी व्यवस्था छ । तर बलात्कारविरुध्दको मुद्दामा भने सांसद निलम्बित हुने कुनै नियम छैन । एक जना कानुन व्यवसायी भन्छन्, ‘सांसद भ्रष्टाचारको आरोपमा स्वतः निलम्बित हुन्छ,बलात्कारमा हुँदैन, कानुन नै त्यस्तै छ ।’

टिप्पणीहरू