एकातिर गठबन्धनको उत्साह, अर्काेतिर आन्तरिक कलह
लामो समय मकवानपुरमा एकछत्र चलाएको नेकपा एमालेविरुद्ध पाँचदलीय गठबन्धनको खाका कोर्न शुरु भएको छ । जिल्लाकै सबैभन्दा आकर्षक मानिएको हेटौँडा उपमहानगरपालिकामा कांग्रेसको दाबी रहनु र त्यसभित्र पनि पुरानै उम्मेदवार वा नयाँ भन्ने बहस चल्नुलाई राम्रो संकेतको रूपमा हेरिएको छैन ।
माओवादीसँग गठबन्धन रहेको हेटौँडामा कांग्रेसका उम्मेदवार आनन्दराम पराजुलीले २२ हजार ५०९ मत पाएर ६१५ मतान्तरले हार खाएका थिए । एमाले उम्मेदवार हरिबहादुर महतले २३ हजार १२४ मत ल्याएर जीत हात पारिरहँदा कांग्रेस र माओवादी गठबन्धनका ७ हजार मत बदर हुनुले पराजुलीको दिल नराम्ररी दुखेको थियो ।
त्यतिखेर दुखेको दिलमा पाँच वर्षपछि मल्हम लाग्ला कि भन्ने आशा गरेर अघि बढिरहेका पराजुली कांग्रेस जिल्ला सभापति हुन त सकेनन् नै पुनः मेयर पदमा उठ्न सक्ने अवस्था पनि न्यून हुँदै गएको छ । कांग्रेसका दुई ठूला शक्ति केन्द्र महालक्ष्मी उपाध्याय डिना र इन्द्रबहादुर बानियाँमध्ये डिनापक्षधर मानिएका पराजुलीको दिल दुख्ने गरी बानियाँले दुईवटा फोरममा भनेका छन्–‘बिगतमा हारेको, लोकप्रियता भएको भन्ने आधारमा यसपटक टिकट कसैले पाउनेवाला छैन, समय सापेक्ष उम्मेदवार चयन गर्दै लगिनेछ ।’
उनले कांग्रेसको एकमहिने अभियान उद्घाटनका दिन हेटौँडास्थित रोयल पार्टी प्यालेसमा गुरुराज घिमिरेसहितका नेतासामु पनि यस्तै बोलेका थिए भने सोमबार दिउँसो उपमहानगरपालिकास्तरीय कार्यक्रमका लागि बोलाइएका नेता–कार्यकर्तासामु पनि एभोकाडो होटलमा यस्तै लयमा भाषण गरे । उनको भाषण सुनिरहेका पराजुली र उनी पक्षका कार्यकर्ता कालो नीलो अनुहार लगाउन बाध्य भए ।
स्रोतका अनुसार प्रकाशमान सिंह पक्षका प्रभात दाहाललाई मेयर बनाउने बचन बानियाँले जिल्ला अधिवेशनताका नै दिइसकेका छन् । जसकारण पराजुलीको नाउँसमेत लिन चाहँदैनन् बानियाँ । पराजुली, दाहालसहित अन्य धेरैको दाबी हेटौँडाको मेयरमा छ ।
यसरी किचलो बढ्दै गएपछि कांग्रेसले हेटौँडा उपमहानगरपालिका नै अरु दलले लिने सम्भावना छ । स्रोतका अनुसार देशभरका उपमहानगरपालिका गठबन्धनले भाग लगाउँदा हेटौँडा नेकपा एकीकृत समाजवादीले लिने अवस्था पनि आउन सक्छ ।
त्यसो हुँदा हालका उपमेयर अर्थात् नेकपा एकीकृत समाजवादीकी उपाध्यक्ष मीनाकुमारी लामा र अध्यक्ष श्रीधर पोखरेलमध्ये एक जना अघि बढ्ने अवस्था छ । तत्कालीन उपमेयरका उम्मेदवार माओवादीका बलराम बललाई फराकिलो मतान्तरले तत्कालीन एमालेका तर्फबाट लामाले जित हासिल गरेकी थिइन् ।
यता, थाहा नगरपालिका माओवादीको बलियो स्थानीय तह हो । त्यहाँ इमान्दार र कार्यसम्पादनमा उत्कृष्टता हासिल गरेका लबशेर बिष्टले अहिले नेतृत्व गरिरहेका छन् । उनले नदोहोरिने प्रष्ट पारिसकेका छन् । त्यसो हुँदा सोही पार्टीका अर्का नेता विष्णु बिष्ट ‘आदर्श’ अघि बढ्ने अनुमान छ । तेस्रो महत्वपूर्ण पालिका मानिएको मनहरी गाउँपालिकामा पनि उस्तै हानाथाप छ ।
एमालेले जितेको यो पालिकामा यसपटक नेकपा एकीकृत समाजवादीको राम्रो उपस्थिति छ । यसअघि दोस्रो भएको कांग्रेसले नेतृत्व दाबी गरिरहेको छ भने माओवादीले पनि आफूलाई अब्बल भनेको छ । यता जिल्लाकै १० स्थानीय तहमध्ये मनहरी नै राम्रो र जनमत रहेको भन्दै एकीकृत समाजवादीले पनि नेतृत्व दाबी नछोड्ने जनाएको छ ।
एमालेले जसरी हुन्छ पुरानो बर्चश्व कायम राख्ने दाबी गरेको छ । तर, दाबी अनुसारको उपलब्धी हुनेमा शंका छ । गठबन्धन हुनासाथ सबै स्थानीय तहमा एमालेलाई चरम समस्या छ । त्यसो हुँदाहुँदै पनि राम्रो कार्य सम्पादन भएका कारण मकवानपुरगढी, भीमफेदी गाउँपालिका र प्रदेशको राजधानी भएकाले हेटौँडा उपमहानरपालिका जित्नैपर्ने बाध्यता हुँदा तीनवटा स्थानीय तहमा एमालेले बढी जोडबल गर्ने देखिन्छ ।
तर, हेटौँडामा एमालेले चर्चामा ल्याएका पात्रहरू लोकप्रिय र जनतामाझ भिज्ने स्वभावका नभएको रूपमा विश्लेषण गरिएको छ । सुनिएअनुसार संविधानसभा सदस्य अनन्त पौडेल, पार्टी अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल र वर्तमान मेयर हरिबहादुर महत दौडमा छन् । तीमध्ये महत नै शक्तिशाली रहेको विश्लेषण छ ।
प्राथमिक चरणमा सबै स्थानीय तहमा गठबन्धनको बैठक बसेको छ । बैठक बस्नासाथ आफू बलियो रहेका वडाका दलका नेताहरू ‘बरु एकल जाऊँ’ भनेर गाउँपालिका र जिल्लास्तरका नेतालाई अड्को थाप्न थालेका छन् ।
गठबन्धन गर्दा संविधानले दिएको महिला सहभागिता अर्थात् प्रमुख वा उपप्रमुखमा महिला अनिवार्य हुने व्यवस्थाको पनि धज्जी उडाउने विषय प्राथमिकतासाथ पार्टीमा उठान हुने र एमालेले उक्त विषयलाई जनतामाझ लैजानसक्ने डर पनि उत्तिकै छ ।
टिप्पणीहरू