काँग्रेस नेताहरु खुमलटारमा, भरतपुरका काँग्रेसी बोहोराटारमा
नेपाली काँग्रेसका नेताहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन् । दाहालसँग भेटघाट गर्न काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला त्यहाँ पुगेका हुन् ।
बिहान ९ बजेदेखि भेटवार्ता भएको अध्यक्ष दाहालको सचिवालयले पुष्टि गरेको छ ।
यता भरतपुर महानगरपालिकाको मेयर कुनै हालतमा नछाड्ने अडान बोकेर आएको चितवनको काँग्रेस टोलीले नेता पौडेललगायतका शीर्ष नेताहरुलाई भेटेर दवाव दिएको छ । माओवादी अध्यक्ष दाहालले गत साता भरतपुर पुगेर त्यहाँको मेयर छाडिन्न भनेपछि अहिले काँग्रेसीहरु रिसले आगो भएर काठमाडौं आएका हुन् ।
सत्तारुढ दलहरुको गठबन्धनले बनाएको स्थानीय तह निर्वाचनका लागि तयारी तथा अनुगमन समितिको संयोजकसमेत रहेका पौडेललाई उनीहरुले ज्ञापनपत्र नै बुझाएका छन् । उनीहरुले भरतपुरको मेयर पद अब काँग्रेसलाई भन्दै उक्त माग नै अन्तिम बटमलाइन भएको बताएका छन् ।
चितवन काँग्रेसका सभापति राजेश्वर खनाल,पूर्वसभापति टेकप्रसाद गुरुङ,नेता दिनेश कोइरालालगायतको टोलीले हिजै महामन्त्री गगन थापा,उपसभापति धनराज गुरुङ, पूर्णबहादुर खड्कालगायतका नेतासँग भेटेर सोहि माग दोहोर्याएको छ ।
उनीहरुले आज पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै छन् । उनै कोइरालालाई यसअघिको निर्वाचनमा मनोनयन दर्ता गर्ने बेला मेयर पदबाट नाम फिर्ता लिन लगाइएको थियो ।
टिप्पणीहरू