श्रीलंकाको संकटले एम्नेष्टीलाई सास्ती, सचिवालय सार्ने टर्यो सुरसार

श्रीलंकाको संकटले एम्नेष्टीलाई सास्ती, सचिवालय सार्ने टर्यो सुरसार

मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था एम्नेष्टी इन्टरनेशनलले कोलम्बोस्थित इन्टरनेशनल सेक्रेटारियट नसार्ने भएको छ । श्रीलंकाको पछिल्लो आर्थिक र राजनीतिक अवस्थालाई ध्यानमा राखेर दक्षिण एसियालाई समेत हेर्ने जिम्मेवारी पाएको उक्त कार्यालय काठमाडौंमा सार्नेबारे सामान्य छलफल भए पनि अन्ततः हाललाई टरेको हो ।

अधिकांश अन्तर्राष्ट्रिय संघ संस्थाको दक्षिण एसियाली मुलुकलाई हेर्ने कार्यालय भारतमा रहे पनि एम्नेष्टीले भने त्यहाँ राष्ट्रियस्तरको कार्यालय मात्र खोलेको छ । काश्मिरलगायतका विषयमा एम्नेष्टीले मानवअधिकारको मुद्दा उठाउँदै आएकाले भारतले उक्त कार्यलाई राम्रो नमानेको एम्नेष्टी इन्टरनेशनल नेपालका एक जना अधिकारीले बताए ।

एम्नेष्टी इन्टरनेशनल भारतका अध्यक्ष तथा मानवअधिकारकर्मी अकबर पटेललाई मुलुक बाहिर जान भारत सरकारले प्रतिबन्ध लगाएको छ । उनलाई अमेरिकामा आयोजना हुन लागेको मानवअधिकारसम्बन्धी सम्मेलनहरुमा भाग लिन जाँदा बैंगलोर विमानस्थलमा रोकिएको छ । यसअघि भारतले उक्त संस्थाको बैंक खाता सञ्चालनमा रोक लगाएको थियो ।

अहिले कोलम्बोबाट काठमाडौं सार्न लागिएको भनिएको इन्टरनेशनल सेक्रेटारियटको निम्ति नेपाल सरकार र प्रमुख राजनीतिक दलको सहमतिबिना ल्याउन नसकिने पनि स्रोतले बताएको छ । तिब्बत र चीन मामिला जोडिने विशिष्ट भूराजनीतिक धरातलमा रहेको नेपालमा उक्त कार्यालय ल्याउँदा छिमेकी मुलुकहरुसँगको सम्बन्धमा पर्नसक्ने गम्भीर असरलाई ध्यानमा राखेर पनि एम्नेष्टी इन्टरनेशनलको कुनै पनि अन्तर्राष्ट्रिय कार्यालय नेपालमा स्थापना हुन नसक्ने बताइएको हो ।

टिप्पणीहरू