लुम्बिनीमा गठबन्धन एकढिक्का, अघिल्लो दिनको आशंका निमिट्यान्न

लुम्बिनीमा गठबन्धन एकढिक्का, अघिल्लो दिनको आशंका निमिट्यान्न

स्थानीय तहको निर्वाचनको लागि दलीय रस्साकस्सी सुरु भएको छ । चुनावमा एक्लै सहभागी हुने अथवा मिलेर जाने भन्ने विषयमा गठबन्धमा संलग्न दलहरु छलफलमा जुटिसकेका छन् । यसपटक नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालले गठबन्धनलाई कसिलो बनाएर जाने निर्णय गरेका हुन् ।

लुम्बिनी प्रदेशमा बुधबार एकीकृत समाजवादी पार्टी बिना नै बैठक गरेपछि गठबन्धनमा समस्या देखिएको शंका उपशंका गरिएको थियो । चार दलका प्रतिनिधिहरु बसेर चुनावी तालमेल सुरु गरेपछि उक्त परिस्थिति देखिएको हो । तर, भोलिपल्ट पाँच दलका प्रतिनिधि जुटेर छलफल गरेपछि अघिल्लो दिनको आशंका मेटिएको बताइन्छ । बुधबारको बैठकमा सहभागी नभएको एकीकृत समाजवादीले पनि प्राविधिक समस्यको कारण अनुपस्थित भएको बताएको छ ।

बिहीबारको बैठकपछि स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई व्यावहारिकरुपमा लैजान भन्दै संयुक्त प्रेस विज्ञप्ति नै जारी गरिएको हो । चार बुँदे निर्णयसहित सार्वजनिक विज्ञप्तिमा काँग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन मगर, माओवादी केन्द्रका सुदर्शन बराल, एकीकृत समाजवादीका मेटमणि चौधरी, जनता समाजवादी पार्टीका अशोककुमार यादव र राष्ट्रिय जनमोर्चा नेपालका बद्री आलमले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार प्रदेशमा गठबन्धन बलियो बनाउन नियमित बैठक बस्ने, मत विश्लेषण गर्ने र निर्वाचन योजना निर्माण गर्ने विषयलाई प्राथमिकताका आधारमा विज्ञप्तिको पहिलो बुँदामा राखिएको छ । त्यस्तै, प्रदेशका एक सय ९ स्थानीय तहमा गठबन्धनको धरातलीय अवस्था चैत २६ गतेसम्म पठाउन सबै जिल्लालाई निर्देशन दिने निर्णय भएको हो ।

गठबन्धनलाई सकारात्मक रुपमा ग्रहण गर्दै प्रदेशभरका जिल्लामा बैठक राख्न पाँच दलीय गठबन्धनमा आबद्ध सबै दलले जिल्लाका राजनीतिक दललाई निर्देशन दिने र चुनावी कार्ययोजनासहित अर्को शनिबार बस्ने निर्णय भएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

टिप्पणीहरू