वैदेशिक रोजगारीमा जानेलाई स्वःघोषणापत्र किन अनिवार्य ?
वैदेशिक रोजगारीमा व्यक्तिगत श्रमका लागि जाने सबैले श्रम स्वीकृति लिँदा अनिवार्य स्वःघोषणापत्र भर्नुपर्ने भएको छ । वैदेशिक रोजगारीको नाममा भिजिट भिसा एवम् व्यक्तिगत श्रम स्वीकृति लिई रोजगारीमा जाने अधिकांश व्यक्तिमा अलपत्र पर्ने,ठगिने र बढी रकम तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएपछि वैदेशिक रोजगार विभागले स्वःघोषणा पत्र भर्नुपर्ने नियम अघि सारेको हो ।
यो नियम आगामी वैशाख १ गतेबाट लागु हुँदैछ । नेपाल सरकारको व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रियासम्बन्धी निर्देशिका–२०६९ को दफा ३ मा उल्लेख भएबमोजिम प्रमाणीकरणको प्रक्रिया अपनाउनुपर्ने राष्ट्रहरुमा साउदी अरेबिया, स्लोभाकिया,हङ्गेरी, मोल्दोभा र बेलारुस छन् ।
ती मुलुकमा जाने कामदारले स्वःघोषणा प्रमाणीकरणका लागि राहदानीको प्रतिलिपि, सम्बन्धित सरकारबाट जारी भएको प्रवेशाज्ञाको प्रतिलिपि,रोजगारका सेवा,शर्त,सुविधा र तलब रकम स्पष्ट उल्लेख भएको करार वा सम्झौतापत्रको प्रतिलिपि नेपाली राजदूतावासमा पेश गर्नुपर्नेछ ।
त्यसैगरी, रोजगारदाताको इजाजत दर्ता प्रमाणपत्रको प्रतिलिपि वा स्पोन्सरको परिचयपत्रको प्रतिलिपि, रोजगारदाता कम्पनीको ट्रेड लाइसेन्सको प्रतिलिपि वा निजी कामदारको हकमा रोजगारदाताको राहदानी वा परिचयपत्रको प्रतिलिपि,संस्थामा जाने कामदारको हकमा कम्पनीको संक्षिप्त विवरण,गन्तव्य मुलुकको सरकारले रोजगारदाता संस्थालाई दिएको स्वीकृतिपत्र पनि अनिवार्य बुझाउनुपर्ने भएको छ ।
टिप्पणीहरू