रोल्पामा चुनावको रन्को, स्थानीय नेताले लगाउन थाले गाउँको फन्को

रोल्पामा चुनावको रन्को, स्थानीय नेताले लगाउन थाले गाउँको फन्को

अन्यत्रको तुलनामा रोल्पामा चुनावको माहौल तातिसकेको छ । आउँदो स्थानीय तह निर्वाचनमा कुन स्थानीय तहमा को उम्मेदवार हुने भन्ने चर्चा जताततै हुन थालेको छ । विशेषगरी रोल्पाको माडी गाउँपालिकाका सम्भावित उम्मेदवारको चर्चा धेरैले गर्न थालेका छन् ।

गाउँपालिकाभित्र नेकपा (एमाले),नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित स्वतन्त्र उम्मेदवार पनि अध्यक्षमा आकांक्षी देखिएका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य केशबहादुर बाँठा ‘सुवास’ अध्यक्षको उम्मेदवार बन्ने हल्लाले राजनीतिक वृत्त एकाएक तातेको छ ।

“नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य केशबहादुर बाँठा ‘सुवास’ अध्यक्षको उम्मेदवार बन्ने हल्लाले राजनीतिक वृत्त एकाएक तातेको छ ।”

जिल्लाभर ‘विप्लव’ समर्थक तथा माडीबासीले ‘सुवास’ को नाम लिएर गाउँ–टोल र सामाजिक सञ्जालमा प्रचारप्रसार थालेका छन् । तर उनी आसन्न स्थानीय तहको निर्वाचन आफ्नो रोजाइ नभएको बताउँछन् ।

‘उम्मेदवार बन्ने सोच छैन । पार्टीले के निर्णय गर्छ, त्यो हेर्न बाँकी छ,’ उनले भने, ‘चुनावबारे पार्टीभित्र पछि सल्लाह गर्नुपर्ला । तर व्यक्तिगत रूपमा उम्मेदवार बन्नुपर्छ भन्ने चाहिँ मनमा छैन ।’

त्यसो त नेपाल कम्युनिष्ट पार्टीले पनि अध्यक्ष पदको उम्मेदवारका लागि ‘सुवास’लाई अघि सारेको बुझिएको छ । माडीका पार्टीभित्र वा बाहिरका अधिकांश युवाले उनैलाई रोजेको बताइन्छ ।

स्रोतका अनुसार अध्यक्षका आकांक्षीहरू विजयकुमार घर्तीमगर, प्रेम घर्तीमगर (एमाले), गोपाल घर्तीमगर (काँग्रेस) र सुवास (विप्लव) एक ठाउँमा उभिएका छन् । उनीहरूबीच गठबन्धनको पनि उत्तिकै सम्भावना छ । माओवादी केन्द्र भने छुट्टै कित्तामा देखिएको छ ।

टिप्पणीहरू