पण्डित एमालेमा फेरि ‘दण्डित’

पण्डित एमालेमा फेरि ‘दण्डित’

सामान्य प्रशासन मन्त्री हुँदा डिभी पिआर लिएका कर्मचारीलाई जागिर छाड्न बाध्य पारेर एकाएक चर्चामा आएका एमाले नेता लालबाबु पण्डित एमालेमा फेरि ‘दण्डित’ भएका छन् । संघीय सरकारमा पटक-पटक मन्त्री भैसकेका पण्डितलाई एमालेले मेयरको टिकटमा सिफारिससम्म पनि गरेन ।

यसअघि उनी विराटनगर महानगरपालिकाको मेयर बन्ने दौडमा थिए । संघीय सरकारमा मन्त्री भएर काम गरिसकेको अनुभवसमेतका आधारमा आफूले टिकट पाउनुपर्ने उनको दावी थियो । तर शनिवार अबेरसम्म बसेको एमाले महानगर कमिटीको बैठकले सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेको छ । जसमा केन्द्रीय सदस्य रामलाल साह,मोरङ जिल्ला पार्टी उपाध्यक्ष बाबुराम कार्की,प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेर पठाईएको छ ।

पार्टीमा सिनियर भएर पनि पण्डितसँगै बिनोद ढकाल र प्रदेश १ का पूर्वमन्त्री जीवन घिमिरे भने सिफारिसमा परेनन् । उनीहरु तीनै जना उम्मेदवारको आकांक्षी थिए। यसअघि एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको केन्द्रीय सदस्यको सूचीमा आफ्नो नाम नपरेपछि वीचमै चितवनबाट निस्किएका पण्डितले पार्टी छोडेको घोषणा गरेका थिए ।

पछि मनोनित कोटाबाट केन्द्रीय कमिटीमा पुगेका उनी मेयर बन्ने तयारीका साथ विराटनगर झरे । रिक्सा चढेर घरदैलो अभियानमा हिँडेको फोटो सार्वजनिक गर्दै उनले भोट माग्न शुरु गरिसकेको सन्देश पार्टी नेतृत्वलाई दिएका थिए । तर, पार्टीले उनलाई पत्याएन । एमालेमा उनी तत्कालीन माधव नेपाल समूहका नेता हुन् । नेपालकै कोटामा उनी दुई पटकसम्म मन्त्री बनेका थिए ।

टिप्पणीहरू