सबैतिर चुनावी सरगर्मी

सबैतिर चुनावी सरगर्मी

नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । आज सम्पन्न केन्द्रीय सचिवालय बैठकले अध्यक्ष नेपालको संयोजकत्वमा एक हजार एक सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

चुनाव परिचालन कमिटीमा केन्द्रीय सदस्य,तीन वटै केन्द्रीय आयोग,केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी र सदस्य,केन्द्रीय परिषद् सदस्य,प्रदेशका पदाधिकारी,७७ वटै जिल्ला अध्यक्ष, जनसंगठनका केन्द्रीय पदाधिकारी रहेका छन् ।

त्यस्तै,बैठकले महासचिव डा. बेदुराम भुसालको संयोजकत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवालय पनि गठन गरेको छ । जसमा प्रकाश ज्वाला,गंगालाल तुलाधर,डा.विजय पौडेल,जगन्नाथ खतिवडा,जीवनराम श्रेष्ठ,विश्वनाथ प्याकुरेल,सोमप्रसाद पाण्डे,केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेका छन् ।बैठकले उम्मेदवार छनोटको मापदण्ड पनि बनाएको छ । उम्मेदवार सिफारिस गर्दा पार्टी नीति र कार्यक्रमप्रति प्रतिवद्ध रहेको,पार्टीमा योगदान गरेको, निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवम नैतिक आचरण राम्रो भएको, जनतामा स्थापित, कार्यक्षमता राम्रो भएको व्यक्तिलाई प्राथमिकता दिने र समावेशी सिद्धान्तलाई ध्यान दिने बताइएको छ ।

एकीकृत समाजवादीले उम्मेदवार चयनको प्रक्रियासमेत तय गरेको छ । जसमा वडा सदस्यको उम्मेदवारी वडाको सिफारिसमा पालिकाले टुंगो लगाउने छ भने वडाध्यक्षको उम्मेदवार जिल्ला कमिटीले चयन गर्नेछ ।

वडाध्यक्षको उम्मेदवार वडा र पालिका कमिटीले सिफारिस गर्नुपर्नेछ । त्यस्तै पालिका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षको उम्मेदवार सम्बन्धित पालिका र जिल्ला कमिटीको सिफारिसमा प्रदेशले टुंगो लगाउनेछ ।

उपमहानगर र महानगरको उम्मेदवारबारे केन्द्रीय समितिले नै निर्णय गर्ने समाजवादीको निर्णय छ । सम्बन्धित पालिका, जिल्ला र प्रदेश कमिटीले गरेको सिफारिसका आधारमा केन्द्रीय कमिटीले उपमहानगर र महानगरका प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाउने छ ।

यसरी सिफारिस गरिएका उम्मेदवारका सन्दर्भमा कुनै विवाद आएका एक तह माथिको कमिटीले छानविन गरेर फैसला गर्नेछ । त्यस्तै, सिफारिस गर्ने क्रममा सर्वसम्मति भएमा सोही नाम पठाउने र सर्वसम्मति नभएमा आकाङ्क्षीमध्ये कम्तिमा एक महिलासहित तीन जनाको नाम पठाउनु पर्नेछ ।

गठबन्धन गर्दा पार्टीले पाएको स्थानमा सिफारिस भई आएका नाममध्येबाट उम्मेदवार चयन गरिने तर, अन्य दललाई परेका स्थानमा आफ्नो उम्मेदवार नरहने समाजवादीको निर्णय छ ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/04/Pressnote-2078.12.27.pdf”]

टिप्पणीहरू