एमालेको किल्लामा समाजवादीको शान
दिनभरि पालिकाको काम, साँझ–बिहान अबेरसम्म पार्टीको प्रचार । गजुरी गाउँपालिका उपाध्यक्ष सीता ढुंगानालाई भ्याइनभ्याइ छ । ०७४ मा एमालेको सूर्य चिह्नबाट उपाध्यक्ष निर्वाचित ढुंगाना विभाजनपछि नेकपा एकीकृत समाजवादीको कलम चिह्न बोकेर गाउँगाउँमा खटिएकी छन् ।
पहिलो स्थानीय निर्वाचन जितेर फेरि नयाँ चुनाव चिह्नको प्रचार गर्नेमा अरू थुप्रै छन् । ढुंगाना भन्छिन्– ‘हाम्रो पक्षमा रहेका आममतदाता चुनाव चिह्नको अलमलमा नपरुन् भनेर कलम चिह्न चिनाउँदै रातसाँझ नभनी घरघरै हिँडिरहेका छौँ ।’
दिनभरि जनप्रतिनिधिको भूमिकाका कारण आफू जनताकै काममा खटिनुपर्ने र दिउँसो मतदाता आफ्नो काममा व्यस्त भई भेटघाट नहुने भएकोले ग्रामीण बस्तीमा साँझपख कार्यक्रम गरिरहेको उनले बताइन् । ‘अहिले हाम्रो एजेण्डा नै फेरिएको छ, समाजवादमा जनताले पाउने सुविधा जनतालाई नै बुझाउन रातदिन नभनी खटिएकी हुँ’, ढुंगानाले भनिन् ।
गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ र धुनिबेंसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य पनि कलम चिह्नको प्रचारमा जुटेका छन् । मतदातामाझ यसअघिदेखि नै स्थापित अनुहार अहिले नयाँ चुनाव चिह्नको प्रचारमा रातारात बत्ती बालेर घरदैलो गरिरहेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको क्षेत्रका रूपमा परिचित धादिङ क्षेत्र नं. २ मा पर्ने पृथ्वीराजमार्ग जोडिएका पालिकाहरूमा आसन्न निर्वाचनको लागि नेकपा समाजवादीको प्रचार निकै आक्रामक देखिएको छ । ०७४ को निर्वाचनमा एमाले बलियो देखिएको धुनिबेंसी, थाँक्रे, गल्छी, गजुरी र बेनीघाट रोराङमा एमाले विभाजनपछि समाजवादीले आफ्नो पकड जमाउने कसरत गरिरहेको छ ।
धुनिबेसीमा एमाले, माओवादी र कांग्रेस सिंगल सिंगल चुनावमा उत्रिदा एमाले उम्मेदवार विजयी भएका थिए भने कांग्रेस र माओवादीसँगको गठबन्धनअन्तर्गत चुनाव भएका थाँक्रे, गल्छी र गजुरीमा तत्कालीन एमालेले जितेको हो । बेनीघाट रोराङमा भने कांग्रेस र माओवादीका उम्मेदवार विजयी भएका थिए । यसपटक गठबन्धन गरेरै भए पनि एमाले उम्मेदवारलाई हराउने गरी समाजवादी नेता कार्यकर्ताले प्रचार गरिरहेका छन् ।
आसन्न निर्वाचनमा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी समीकरणको नजिक पुगेका छन् । समीकरण हुँदा एमालेलाई पुरानो विरासत जोगाउन हम्मेहम्मे छ ।
‘एक पटक काम गरिसकेकाले आउँदा दिनमा काम राम्रो गर्न सक्छन् र जनताले पनि विश्वास गर्छन्’, नेकपा एकीकृत समाजवादी धादिङका सचिव सुवाष खतिवडा भन्छन्–‘अहिले हाम्रो चुनाव चिह्न नयाँ भएकाले पनि जनतामाझ परिचित अनुहार नै उम्मेदवार बन्ने सम्भावना बढी रहन्छ ।’
स्थानीय लोकप्रियता, कामको मूल्यांकन, समग्र राजनीतिक यात्रा र पारदर्शितालाई हेरेर उम्मेदवार अघि बढाइने खतिवडाले बताए । ‘केन्द्रीय तहबाट मापदण्ड बनेको छैन । नयाँको जोश र पुरानाको अनुभव मिश्रित गराएर जानेछौं’, उनले भने ।
समाजवादीको पूरै शक्ति राजमार्गकेन्द्रित पालिकाहरूको प्रचारमा लागिरहँदा एमाले, कांग्रेस र माओवादी पनि त्यत्तिकै दौडधुपमा छन् । कांग्रेसले चुनावको मिति घोषणा हुनुअघिदेखि नै पार्टी प्रवेश र कार्यकर्ता प्रशिक्षण गरिरहेको छ । एमाले आफ्नो विरासत जोगाउन हरतरहले लागिरहेको छ । यो क्षेत्रमा पुरानो पार्टी कांग्रेस र एमालेमा युवापुस्ता बढी सक्रिय देखिएका छन् ।
युवा पुस्ताले राजनीतिप्रति देखाएको चासो, सरोकार र सहभागिताले पनि यसपटक निर्वाचनको रौनक बेग्लै देखिएको छ । एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठी भन्छन्–‘आममतदाताले सुझबुझपूर्ण निर्णय गर्न सक्नुपर्छ, पुरानो अनुहारले बोकेको नयाँ चिह्न रोज्ने कि नयाँ अनुहारसँग भएको पुरानै चिह्न रोज्ने ? जिम्मा मतदाताकै हातमा छ ।’
धादिङमा पहिलो स्थानीय निर्वाचन कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर लडेका थिए । नेकपा एमालेले तत्कालीन अवस्थामा एक्लै लडेर बहुमत पाएको थियो । जिल्ला समन्वय समितिसमेत ऊ एक्लैले जित्न सफल भएको हो ।
टिप्पणीहरू