अब राष्ट्र बैंकले विदेश जानेलाई डलर दिन नसक्ने एमाले अध्यक्षको भनाइ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न लागेको बताउनुभएको छ । आज पार्टी निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औँ राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग दाँज्नु भएको हो ।
मुलुकको अर्थतन्त्र क्रमशः श्रीलंकाको जस्तै बनिरहेको उहाँको टिप्पणी छ । केही समयपछि सरकारले तलब, भत्ता दिन नसक्ने अवस्थाको सिर्जना हुँदै गएको पनि उहाँको दाबी छ ।
योजना, आयोजनाहरु काटिएकाले यो सबै श्रीलंकाको प्रारम्भिक चरण भएको ओलीको भनाइ हो । ‘देश यस्तो अवस्थामा पुग्दापनि गठेहरु आनन्दमा छन्,’ उहाँले व्यङ्ग्य गर्नुभयो ।
उहाँले केही समयपछि कर्मचारीले तलब र जेष्ठ नागरिकहरुले भत्ता नपाएमा अनौठो मान्नुपर्ने अवस्था नभएको टिप्पणी गर्दै भन्नुभयो, ‘देशको अवस्था यस्तो हुँदा पनि गठबन्धन सरकार एमालेलाई सरकारबाट हटाइयो भनेर आनन्द मानेर बसिरहेको छ । तर एमाले चुनावको वसन्तको याम पर्खिरहेकाले चुनावपछि एमाले ढुंगाको काप फोरेर उम्रिने छ ।’
एमाले अध्यक्ष ओलीले देश असफल राष्ट्रतिर जाने अवस्था आउन लागेको पनि उल्लेख गर्नुभएको छ । उहाँले अब कसैले पनि विदेश जाने कल्पना नगरे हुने विश्वास दिलाउनुभयो ।
उहाँको भनाइ थियो,‘ विदेश जान डलर चाहिन्छ, डलर राष्ट्र बैंकले दिन सक्दैन । अहिले देशको पैसा बाहिर गइराखेको छ । कारोबारहरु उतै भुक्तानी हुन्छ । देशभित्र पैसा छैन । चरम भ्रष्टता भएको छ ।’
टिप्पणीहरू