मन्त्री नहुँदा कर्मचारीले झेलेको मार

मन्त्री नहुँदा कर्मचारीले झेलेको मार

मुलुकको अर्थतन्त्र डाँवाडोल हुनसक्ने आकलन भइरहेको बेला गत शुक्रवार साँझ अर्थ मन्त्रालयको सिफारिसमा अघिल्लो दिनको क्याबिनेट बैठकबाट राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएको छ ।

गभर्नरलाई महत्वपूर्ण सूचना चुहाएको र पदीय आचरणअनुकूलको व्यवहार नगरेको आरोप लगाइए पनि मुख्य कारण अर्थमन्त्री जनार्दन शर्माको व्यक्तिगत चाहनाका कतिपय कार्य गर्नबाट राष्ट्र बैंकले अप्ठेरो पारेकोले भन्ने निश्कर्ष निकालिएको छ ।

मुलुकको अर्थतन्त्र र वित्तीय क्षेत्रमा एकपछि अर्को समस्या देखिन थालेका छन् । विशेषगरी विदेशी मुद्राको आम्दानीभन्दा खर्च बढेकाले डलर सञ्चिति निकै कम भएको छ । सोही सन्दर्भमा वाणिज्य बैंकहरुलेसमेत अस्तिदेखि एलसी नखोल्ने सामूहिक निर्णय गरेका छन् । राष्ट्र बैंकले गत साता बैंकका सीईओहरुलाई बोलाएर एलसी नखोल्न निर्देशन दिएको थियो ।

तर अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालयले विलासी सामान आयातमा रोक लगाउने, कोटा तय गर्नेबारे दिनदिनै छलफल गरे पनि कुनै निर्णय गर्न सकेका छैनन् । अर्थ मन्त्रालय सोतले भन्यो, ‘त्यसबारे कुनै निश्कर्ष निकाल्न सकिएको छैन ।’

यसैबीच उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले लामो सयमपछि राजनीतिक नेतृत्व पाएको छ । विभागीय मन्त्री नहुँदा अधिकांश कार्य ठप्प भएको त्यहाँका कर्मचारीहरु बताउँछन् । ‘विभागीय मन्त्री नहुँदा कतिसम्म समस्या हुँदो रहेछ भन्ने यस पटक थाहा पाइयो,’ एक जना कर्मचारीले भने ।

टिप्पणीहरू