नेपालका हिमाल चढ्न खोज्नेमा सबैभन्दा धेरै अमेरिकी

नेपालका हिमाल चढ्न खोज्नेमा सबैभन्दा धेरै अमेरिकी

विश्वको सर्वोच्च शिखर सगरमाथासहित मुलुकका ठूला तथा साना हिमाल र चुचुरा चढ्न विभिन्न देशका चार सय ८० जना पर्वतारोहीले अनुमति लिएका छन् । यस पटकको सिजनमा ५९ देशका चार सय ८० जनालाई हिमाल चढ्न अनुमति दिइएको हो ।

नेपाल पर्यटन बोर्डका अनुसार गत बिहीबारसम्म नेपालसहित विभिन्न देशका नागरिकले उक्त अनुमति लिएका छन् । हिमाल आरोहण गर्न अनुमति लिनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका नागरिक छन् । त्यहाँका १९ जना महिला र ७० पुरुष गरी कूल ८९ जनालाई अनुमति दिइएको छ ।

त्यस्तै, दोस्रो स्थानमा बेलायत रहेको छ । त्यहाँका आठ महिला र ३४ पुरुष गरी ४२ जनाले हिमाल चढ्दै छन् । यसपटक छ महिला र ३० पुरुष गरी ३६ जना नेपालीले अनुमति पाएका छन् ।

छिमेकी मुलुक भारतबाट पनि नेपालका हिमाल चढ्न आउनेको संख्या उल्लेखनीय रहेको बोर्डले बताएको छ । यसपटक ३० जना भारतीय नागरिकले हिमाल आरोहण गर्दैछन् । जसमा आठ जना महिला र २२ पुरुष छन् ।

उता, उत्तरी छिमेकी राष्ट्र चीनबाट भने नौ जना महिला र सात पुरुष गरी १६ जनाले हिमाल आरोहण गर्ने बताइएको छ ।

नेपालमा हिमाल आरोहण गर्ने उद्देश्यले वर्षेनी कैयौं पर्यटक आउने गर्छन् । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत आठ हजार मीटरभन्दा अग्ला १४ वटा हिमाल नेपालमा छन् । ती हिमाल चढ्न अष्ट्रेलिया,जापान, मेक्सिको,फ्रान्स, आयरल्याण्ड,इरान, थाइल्याण्डलगायतका मुलुकबाट पनि आरोहीहरु आउने गरेका छन् ।

टिप्पणीहरू