स्काउटलाई यसरी एक थरिको पेवा बनाइयो
नेपाल स्काउटले सरकारी सम्पत्ति दुरुपयोग गरेको पाइएको छ । मुलुककै पुरानो संस्था भनेर चिनिने नेपाल स्काउट अहिले सेवासुविधाको भोगी बन्न थालेको हो । कार्यकाल सकिएपनि संयोजक लोकबहादुर भण्डारीमाथि पद नछाडेको आरोप छ । संयोजक भण्डारीले अहिले होटल हायातमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेका छन् ।
दैनिक पाँच सय रुपैयाँ खर्च गरे पुग्ने ठाँउमा संयोजक भण्डारीले १५ हजार रुपैयाँ रोजेको पाइएको छ । सरकारी सम्पत्ति सक्दै झण्डै तीन दर्जनको समूह प्रशिक्षणका लागि होटल हायात पुगेको छ । ककनीमा बनाइएको अन्तर्राष्ट्रिय स्काउट केन्द्र नभई महङ्गो होटलमा तालिम गर्नु अहिले चर्चाको विषय बनेको छ ।
पछिल्लो समय नेपाल स्काउट निकै गिजोलिएको छ । २०७५ पौष १६ गते नेकपा एमालेले नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीलाई नियुक्त गरेको हो । बालबालिका तथा युवा वर्गलाई परिचित गराउँदै उनीहरुलाई जनसेवी बनाउने उध्देश्यका साथ स्थापित संस्था अहिले व्यक्तिगत स्वार्थमा लुप्त बनेको बताइन्छ ।
सरकारको नियम लत्याउनमा यसको नाम सर्वप्रथम आँउछ । “युवा जनशक्ति परिचालन गर्ने नेपाल स्काउटलाई केही धन्दावाला मान्छेको गुटले मरणासन्न अवस्थामा पुर्याएको छ” एक अधिकारीले बताए । ती अधिकारीले भने, “ संशोधन भएको ऐनलाई ढाकछोप गरी राष्ट्रिय परिषद्का म्याद समाप्त भइसकेका मनोनित सदस्यहरुलाई प्रभावमा पारी गैरकानूनी रूपमा नियमावली संशीधन गरेर नेपाल स्काउटको संरचना ध्वस्त पार्ने काम गरिएको छ ।”
“तत्कालिन प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक केपी ओलीलाई प्रभावमा पार्न पोखरामा सन्चालित रोभरमुटको स्कार्फमा उहाँको फोटो छाप्ने काम पनि भएको छ ।”
नेपाल स्काउट भ्रष्ट्राचारको दलदलमा डुब्दा कार्यालयमा सञ्चालित सबै भाडाका सटरहरु बन्द भएका छन् । जसका कारण स्काउटले मासिक २५ लाख रुपैयाँ भाडा गुमाएको छ । त्यसैगरी, जिल्ला स्काउट कार्यालयहरुलाई विस्थापित गरी सातै प्रदेश र ७५३ वटै स्थानीय निकायमा यौटै पार्टीका व्यक्तिलाई छिराउने गरेको बताइन्छ । नियुक्त सबैले मिलीजुली आर्थिक अनियमितता गरेको स्रोतले जनाएको छ ।
युवा तथा खेलकुद मन्त्रालयबाट जिल्ला स्काउट कार्यालयहरुलाई दिने गरी एकमुष्ट आर्थिक अनुदान रकमसमेत नेपाल स्काउटले पाएको छैन । तदर्थ समितिले आफन्तलाई नेपाल स्काउटको सार्वजनिक जग्गा बिना टेण्डर गैरकानुनी रुपमा व्यापारिक प्रयोजनका लागि भाडामा लगाएर संरचना बनाउने काम गरिरहेका छन् ।
यता,नेपाल स्काउटको ऐनविपरीत स्कार्फ र लेटरप्याडसमेत परिवर्तन गरिएको छ । तत्कालिन प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक केपी ओलीलाई प्रभावमा पार्न पोखरामा सन्चालित रोभरमुटको स्कार्फमा उहाँको फोटो छाप्ने काम पनि भएको छ । यस विषयमा संयोजक भण्डारीसंग केही कुरा बुझ्न खोज्दा उनको फोन स्विच अफ भएको पाइयो ।
टिप्पणीहरू