श्रीमान,न्यायालयमै किन घोर अन्याय ?

श्रीमान,न्यायालयमै किन घोर अन्याय ?

अन्यायमा परेकालाई न्याय दिने सम्मानित संस्था हो न्यायालय । कानुनी राज्यमा विश्वास गर्ने हरेकले त्यहि विश्वासका साथ न्यायालय र न्यायाधीशमाथि भरोशा गरेका हुन्छन् । तर,अरुलाई न्याय दिने न्यायालयभित्रै कर्मचारीमाथि भएका थिचोमिचो र भेदभावको हिसाब गरिसाध्य छैन ।

अदालतमा राजनीति हावी भएकाले न्याय सम्पादनदेखि न्यायाधीश सरुवा,बढुवामा दलीय हस्तक्षेप हुने गरेको भनिन्छ । तर,प्रभाव र पहुँच हुनेहरुलाई टपक्क टिपेर माथि पुर्याउने अनि काबिल हुँदाहुँदै पनि जिल्ला अदालतबाटै कपाल फुलाएर घर फर्किनुपर्ने विडम्बना न्यायालयको वास्तविकता हो । त्यसैले त भनिन्छ,पहुँच र प्रभाव नभएका त्यहाँका कर्मचारी निरन्तर अन्यायको जाँतोमा पिसिन बाध्य छन् ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रमेश ढकाल एकै मितिका सहसचिव हुन् । कुँवर अहिले उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्तिको लाइनमा छन् । कुँवरलाई यसअघि नै न्याय परिषद्को बैठकले उच्च अदालत पाटनमा न्यायाधीश बनाएर पठाउने निर्णय गरेको थियो,तर सहसचिव सरहको हैसियतमा मुख्य न्यायाधीश नभए नजाने उनको अडानले निर्णय कार्यान्वयन हुन सकेको छैन । उच्चको मुख्य न्यायाधीश भए उनले अझै तरक्की गर्नेमा दुई मत नै छैन । तर,सँगैका सहसचिव ढकाल भने अहिले पनि गणनामै भेटिदैनन् ।

“स्वीकृति पराजुली कम उमेरमा जिल्ला न्यायाधीश भएका थिए । दुर्गा ढुंगाना पनि कम उमेरमै उपसचिव भएका हुन् । तर,उनीहरुलाई बढुवा भएर माथि जान सकिन्छ भन्ने विश्वास आफैंमा छैन ।”

उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले टेकप्रसाद ढुंगानासामु कानुनको सहसचिवमा अन्तर्वार्ता दिएका थिए । आफूले अन्तर्वार्ताबाट छानेको परीक्षार्थी न्यायाधीश भैसक्दा पनि ढुंगानाले भने मुख्यन्यायाधीश बन्न पाएनन् ।अहिले एउटै अदालतमा,उही दर्जामा छन् । हाल सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र विपुल न्यौपानेले एकैचोटी सहसचिवमा नाम निकालेका हुन् । तर एक नम्बरमा नाम निकालेका न्यौपाने पनि अहिले गणनामै छैनन्,तर सुवेदी सर्वोच्चको न्यायाधीश बनिसके ।

थुप्रै क्यारियर न्यायाधीशहरुले क्षमतावान भएर पनि जिल्लामै सीमित हुनुपरेको छ । नेपाल ल क्याम्पसको पढाइ सकेर अधिकृतको एक नम्बरमा नाम निकालेकाहरु वर्षौँदेखि जिल्ला अदालत रुँगेर बसेका छन् । जसमध्ये स्वीकृति पराजुली कम उमेरमा जिल्ला न्यायाधीश भएका थिए । दुर्गा ढुंगाना पनि कम उमेरमै उपसचिव भएका हुन् । तर,उनीहरुलाई बढुवा भएर माथि जान सकिन्छ भन्ने विश्वास आफैंमा छैन । जतिसुकै क्षमता भए पनि प्रभावशाली व्यक्तिले हात नदिँदा थुप्रै न्यायाधीशले जिल्लाबाटै घर फर्किनुपरेको नजिकबाट देखेकाहरुलाई कहाँसम्म पुगिन्छ भन्ने अनुमान लगाउन पनि कठिन छ ।

६/७ वर्षसम्म न्याय क्षेत्रको सहसचिवमा जागिर खाइसकेपछि बल्ल जिल्ला न्यायाधीश भएर जान बाध्य हुनेहरु न्याय सेवामा धेरै छन् । जबकि करिब सात वर्ष सहसचिव भएर कोही कोही सर्वोच्च पुगिसके । न्याय क्षेत्रको यो संक्रमण न्यायाधीशका हकमा मात्र होइन, रजिष्ट्रारदेखि मुख्य रजिष्ट्रारसम्म पनि फैलिएको छ ।

टिप्पणीहरू