प्रचण्डको गृह जिल्लामा हिरोइन रेखा थापाको प्रवेश
राप्रपाले निर्वाचनलक्षित घरदैलो अभियानको औपचारिक शुरूवात गरेसँगै चर्चित अभिनेत्री तथा केन्द्रीय सदस्य रेखा थापा प्रचण्डको गृहजिल्ला चितवन पुगेकी छन् । पार्टीले जिल्लामा कोणसभा गरेर चुनावी घरदैलो अभियानको थालनी गर्न लागेको सन्दर्भमा उनी चितवन गएकी हुन् । एक दशकअघि उनै थापा माओवादीको राजधानी ठप्प कार्यक्रम भद्रकालीमा हुँदा पार्टी अध्यक्ष प्रचण्डसँग कम्मर मर्काइ मर्काइ नाचेकी थिइन् ।
राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार पार्टीले स्थानीय तहको निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्दा “जनजागरणका लागि आफ्नो टोलमा पुगौं’ भन्ने नारा तय गरेको छ । निर्वाचनकेन्द्रित कार्यक्रम सञ्चालन गर्न,जिल्ला कार्य समितिको बैठक गराउन,जिल्लाको संगठनात्मक अवस्था,उम्मेदवार छनौट एवं विभिन्न अभियान सञ्चालनका लागि केन्द्रीय प्रतिनिधि समेत खटाइएको छ ।
पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरूमध्ये विक्रम पाण्डे झापा, राजेन्द्र गुरूङ्ग उदयपुर,राम थापा मोरङ्ग,भक्तिप्रसाद सिटौला इलाम, मोहन श्रेष्ठ र दिनेश कार्की तनहुँ, हरिप्रसाद घिमिरे तेह्रथुम,ज्ञानेन्द्र शाही कालिकोट पुगेका छन् । यसैगरी मुकुन्द श्याम गिरी दैलेख, कुन्तीकुमारी शाही सुर्खेत, सगुनसुन्दर लावती ताप्लेजुङ्ग, गोपाल दाहाल धनकुटा, प्रल्हादप्रसाद साह सुनसरी, दिनेशकुमार साह संखुवासभा, मोहनप्रसाद यादव धनुषा, शत्रुघन महासेठ सप्तरी, रामप्रताप साह (भोला) रौतहट, मनोज मल्ल ठकुरी महोत्तरी, भरत गिरी सर्लाही र अर्जुन राई ओखलढुङ्गामा खटिएका छन् ।
राप्रपाले वीरेन्द्रप्रसाद लाल कर्णलाई सिराहा, राजनारायण प्रसाद साह पर्सा, किशोर बहादुर कार्की बारा, रोशन कार्की काठमाडौं, भुवन पाठक भक्तपुर, प्रकाश रिमाल धादिङ्ग, विक्रमबहादुर थापा ललितपुर, रविन्द्रप्रताप शाह सिन्धुपाल्चोक, दिपककुमार राई रसुवा, भरतप्रसाद पाठक दोलखा, रेखा थापा चितवन, रिना गुरूङ्ग मकवानपुर, रविन चाम्लिङ्गलाई सोलुखुम्बुमा पठाएको हो ।
अन्य नेताहरुमा प्रवीणकुमार थोकर रामेछाप, हेमजंग गुरूङ्ग नवलपुर, डा. महेन्द्रबहादुर कार्की गोरखा, भीमप्रसाद गौचन बाग्लुङ्ग, रामराजा कोइराला लमजुङ्ग, पञ्चराम गुरूङ्ग कास्की, प्रमोद विष्ट अर्घाखाँची, हिकमतजंग कार्की पाल्पा, ध्र्रुवबहादुर रायमाझी गुल्मी, नीलकण्ठ काफ्ले नवलपरासी, प्रदिपकुमार उदय कपिलवस्तु, जयलाल पुन स्याङ्जा, प्रेमबहादुर भण्डारी बर्दिया, डा. धवल समशेर राणालई दाङको जिम्मेवारी दिइएको छ ।
गीता बस्नेतलाई बाँके, दिपक कुवँर क्षेत्री म्याग्दी, धनबहादुर बुढा जुम्ला, गोपालप्रसाद पौडेल पाँचथर, धनसुर शाही जाजरकोट, जनकबहादुर सिंह रूकुम पश्चिम, धर्मराज जोशी कैलाली, जयन्त चन्द कञ्चनपुर, तीर्थराज चटौत दार्चुला, पूर्णबहादुर चन्द बैतडी, बसन्ती शाही अछाम, प्रेम बलायर डडेलधुरा, गोविन्द खडायत डोटी, विजय खड्का सिन्धुली, उदय पोखरेलले पर्वत जिल्लाम गरिने कार्यक्रमको नेतृत्व गर्दैछन् ।
अन्य जिल्लामा खटिएकामध्ये ऋषिराज देवकोटा सल्यान, मिना स्वर्णकार रूकुम पूर्व, दामोदर भण्डारी रोल्पा, ध्रुबहादुर प्रधान रूपन्देही, देवी पौडेल घिमिरे प्यूठान, जेम्स हिराचन मुस्ताङ, भुजुङ गुरूङ्गलाई मनाङमा केन्द्रीय प्रतिनिधि खटाइएको श्रेष्ठले बताएका छन् ।
पार्टीले स्थानीय तहको निर्वाचनको निम्ति उम्मेदवार छनौट गर्न सम्बन्धित तहमा ताकेता पनि गरिरहेको छ । उम्मेदवार छनौटमा सम्बन्धित तहमा लोकप्रियता, उच्च नैतिक चरित्रवान, सामाजिक क्षेत्रमा क्रियाशील, विकास निर्माण र रचनात्मक कार्यमा सक्रिय, विगतका निर्वाचनमा पार्टी र पार्टीका उम्मेदवारका पक्षमा सक्रियतापूर्वक कार्य गरेको, पार्टीद्वारा सञ्चालित विभिन्न कार्यक्रम, अभियान र आन्दोलनलगायतका गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेको, प्रचलित कानुनले उम्मेदवार हुन योग्य भएको र सुशासनमा प्रतिबद्ध हुनुपर्ने मापदण्ड तय गरेको छ ।
पार्टीको सक्रिय सदस्य नरहेको तर कुनै राजनीतिक दल राप्रपामा समाहित भएको, एकीकरण भएको, अन्य राजनीतिक दलमा सक्रिय भइ निर्वाचनका बेला राप्रपामा प्रवेश गरि निर्वाचनमा उम्मेदवार बन्न चाहेको अवस्थामा सम्बन्धित स्थानीय तह परिचालन समितिले निर्णय गरेबमोजिम हुने पार्टीको मापदण्डमा उल्लेख छ ।
राप्रपाले उम्मेदवार छनौट गर्न वडा तहमा सम्बन्धित जिल्ला अध्यक्षको अध्यक्षतामा गठित उम्मेदवार छनौट समितिले, नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारको निर्णय सम्बन्धित प्रदेश अध्यक्षको अध्यक्षतामा गठित उम्मेदवार छनौट समितिले र उपमहानगरपालिका, महानगरपालिकाका प्रमुख, उपप्रमुख केन्द्रले छनौट गर्ने बताइएको छ ।
टिप्पणीहरू