केपी ओली र माधव नेपाललाई हेलिकप्टरमा पनि भ्याइनभ्याइ
हिजो पनि नेता,सरकारी ओहोदाका उच्च अधिकारी तथा कूटनीतिज्ञले राजधानी छाड्ने र भित्रिने क्रम उस्तै देखियो । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हेलिकप्टर प्रयोग गरेर विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुनुभयो ।
अध्यक्ष नेपाल फिस्टेल एअरको हेलिकप्टरमा काठमाडौंबाट डोल्पा जानुभयो । नेपालसँगै संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगर र अन्य तीन जना हिजो बिहान साढे ८ बजे त्यता जानुभएको हो । उहाँहरु डोल्पाको कार्यक्रम सकेर साँझ काठमाडौं फर्कनुभएको छ ।
अस्ति सिम्रिक एअरको हेलिकप्टर चढेर पर्वतको सदरमुकाम कुस्मा जानुभएका एमाले अध्यक्ष केपी शर्मा ओली हिजो पोखराबाट राजधानी आउनुभएको छ । उहाँसहित पाँच जनाको टोली बिहान सवा १० बजे काठमाडौं आइपुगेको सिम्रिक एअर स्रोतले बताएको छ ।
हिजै बुद्ध एअरको उडानमा पूर्वमन्त्री विक्रम पाण्डे भरतपुरबाट बिहान पौने ८ बजे काठमाडौं आउनुभएको छ । उक्त उडानमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल हिजो बिहान ८ बजे भैरहवाबाट राजधानी आउनुभएको छ ।
फ्लाई दुबईको उडानबाट स्वास्थ्य सचिव देवकुमारी गुरागाईं हिजो बिहान सवा ८ बजे स्वदेश फर्कनुभएको छ ।
उता लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो काठमाडौंबाट जनकपुर पुग्नुभएको छ । उहाँ हिजो बिहान साढे ९ बजे बुद्ध एअरको उडानमा त्यसतर्फ जानुभएको हो ।
हिजै शिक्षा मन्त्री देवेन्द्र पौडेल बुद्ध एअरको उडानमा बिहान सवा १० बजे काठमाडौंबाट भरतपुर जानुभएको छ । यति एयरलाइन्सको पोखरा–काठमाडौँ उडानमा बिहान साढे ११ बजे पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली र नेकपा एमालेका नेता तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग राजधानी फर्कनुभएको हो ।
बुद्ध एयरको काठमाडौं–विराटनगर उडानमा बिहान साढे ११ बजे नेकपा एमालेका नेता तथा प्रदेश नम्बर १ का पूर्व मुख्यमन्त्री शेरधन राई त्यता जानुभएको छ । यति एअरलाइन्सको उडानमा विराटनगरबाट नेकपा माओवादीका नेता तथा पूर्वमन्त्री देव गुरुङ,प्रदेश नम्बर १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे र पूर्व राज्यमन्त्री मोतिलाल दुगड बिहान पौने १२ बजे राजधानी आउनुभएको छ ।
बुद्ध एयरको हिजो साढे १२ बजेको उडानमा एमाले उपमहासचिव प्रदिप ज्ञवाली काठमाडौंबाट भरतपुर पुग्नुभएको छ । त्यसैगरी बुद्ध एयरकै उडानमा भरतपुरबाट दिउँसो २ बजे खानेपानी मन्त्री उमाकान्त चौधरी राजधानी आउनुभएको छ ।
नेपाल वायुसेवा निगमको दिउँसो सवा २ बजेको उडानमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा नयाँ दिल्ली जानुभएको छ ।
हिजै दिउँसो ४ बजेको बुद्ध एयरको उडानमा कर्णाली प्रदेशका प्रमुख तिलक परियार नेपालगञ्जबाट काठमाडौं आउनुभएको छ ।
टिप्पणीहरू