रवीन्द्रले काठमाडौँमा दुवै महिला रोजे

रवीन्द्रले काठमाडौँमा दुवै महिला रोजे

रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचननिम्ति काठमाडौँ महानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा महिलालाई अघि सार्ने भएको छ । साझाले समीक्षा बास्कोटा र कीर्ति तुलाधरलाई क्रमश: मेयर र उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले दुईजना महिला उम्मेदवार अघि सार्ने निर्णय गरेको साझाका प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

काठमाडौँको मेयरमा उम्मेदवार छानिएकी समीक्षा विवेकशील साझा पार्टीको बागमती प्रदेशकी पूर्वसंयोजक तथा हाल केन्द्रीय कार्यसम्पादन समितिकी सदस्य हुन् । ३८ वर्षीय बास्कोटाले काठमाडौँ स्कूल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमैं स्नातकोत्तर गरेकी छन् । उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उम्मेदवारसमेत थिइन् । त्यतिबेला २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी हुन् ।

कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन् । उनी नेपाल जेसिजको आजसम्मका तीन जना महिला राष्ट्रिय अध्यक्षमध्येकी हुन् । अन्तर्राष्ट्रिय जेसिजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष पनि हुन् । शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघ-संगठनको नेतृत्वदायी भूमिकामा छिन् ।

दुबै उम्मेदवारले आफ्नो संयुक्त घोषणापत्र छिटै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेछन्। घोषणापत्र मूलत: ७ वटा बुँदाहरूमा केन्द्रित हुनेछ: १) भ्रष्टाचार नियन्त्रण,सुशासन र सेवाप्रवाह २) सुलभ,व्यवस्थित, विद्युतीय यातायात ३) नेवा: कला-संस्कृतिको सम्वर्द्धन र पुनर्जागरण (renaissance) ४) खुला क्षेत्रको संरक्षण र विस्तार ५) नदी-नालाको सफाई र पुनर्स्थापना ६) सफा र व्यवस्थित काठमाडौँ, र, ७) गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा।

बास्कोटा र तुलाधरको चुनावी अभियानको नेतृत्व पार्टीकी अर्की केन्द्रीय सदस्य तथा गत संघीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं ७ बाट उम्मेदवार बनेकी अनुपा श्रेष्ठले गर्ने पनि साझा पार्टीले बताएको छ ।

टिप्पणीहरू