माओवादीसङ्ग मिलेर एमाले नै धर्ना बस्यो अध्यक्षको अचाक्लीविरुध्द
राजीनामा दिएर मात्र अबको चुनावमा उठ्न पाउने निर्वाचन आयोगको आचारसंहिताविरुध्द सर्वोच्च अदालत गुहार्न पुगेका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पामाथि चरम आर्थिक अनियमितताको आरोप लागेको छ । अध्यक्ष शेर्पाले बाढी पीडितका नाममा उठेको राहत सामाग्री हिनामिना गरेको भन्दै एमालेसहित पाँच दलले गाउँपालिकाको प्राङ्गणमा धर्ना दिन थालेका छन् ।
चैत २४ गतेदेखि शुरु भएको अनिश्चितकालिन धर्नामा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, माले र राष्ट्रिय प्रजातन्त्र पार्टीका स्थानीय कार्यकर्ता सहभागी छन् । उनीहरुले अध्यक्ष शेर्पाले बाढीपीडितको राहत सामाग्री खाएको, विद्यालय बनाउने नाममा सरकारी सम्पत्ति हिनामिना गरेको, पालिकाको रकम अन्धाधुन्द आफ्नो हितमा प्रयोग गरेकोजस्ता आरोप लगाएका छन् ।
त्यस्तै,मानववस्ति नै नभएको ठाउँमा आफ्नो जग्गा पारेर गोरेटो बाटो बनाएको,महेन्द्र माविमा छात्रावास बनाउन र अमेरिकन स्वयमसेवकलाई बस्न सिफारिस नदिएको, छात्रवृत्ति र आर्थिक सहयोगका नाममा मापदण्ड मिचेर अन्धाधुन्द पालिकाको रकम बाँडेको,चनौटेको अस्पताल र ग्याल्थुमका दुई स्वास्थ्य केन्द्र बन्द गराएको,विद्यार्थी नै नभएको ठाउँमा विद्यालय बनाउने नाममा राज्यको सम्पत्ति दोहन गरेकोलगायतका आरोप पनि अध्यक्ष शेर्पामाथि लागेको छ ।
“स्थानीय नेता दावा लामाले गाउँपालिकाका अध्यक्षले आठ महिनाअघि बाढी पीडितका लागि आएको राहत अलिअलि बाँडेर बाँकी कार्यालयमै राखेको र गत बुधबार राति आफ्ना कार्यकर्तालाई मात्र लक्षित गरेर वितरण गरेको बताए ।”
धर्नाकारी पाँच दलले पाँच वर्षसम्मको हिसाबकिताब सार्वजनिक गर्न पनि शेर्पासँग माग गरेका छन् । त्यस्तै,विपद कोषको आम्दानी खर्चको विवरण,बाढी पीडितका लागि आएको राहतको विवरण र प्रदेश तथा अन्य निकायबाट आएको करोडौं रकम फिर्ता गर्नुको कारण स्पष्ट पार्न पनि भनेका छन् ।
नेकपा एमाले हेलम्बुका स्थानीय नेता दावा लामाले गाउँपालिकाका अध्यक्षले आठ महिनाअघि बाढी पीडितका लागि आएको राहत अलिअलि बाँडेर बाँकी कार्यालयमै राखेको र गत बुधबार राति आफ्ना कार्यकर्तालाई मात्र लक्षित गरेर वितरण गरेको बताए । त्यसविरुद्ध सार्वजनिक विदाको दिनबाहेक पालिका कार्यालयमै धर्ना बस्दै आएको जानकारी दिँदै उनले आफूहरुले उठाएका कुरा सम्बोधन नहुँदासम्म धर्ना जारी रहने चेतावनी दिए ।
अध्यक्ष शेर्पाले भने चुनाव नजिक आएकाले आफूलाई बदनाम गर्न प्रतिष्पर्धीहरुले यस्तो रणनीति अपनाएको बताएका छन् । सबै दलको उपस्थितिमा पालिकाको सर्वदलीय बैठक बस्ने गरेको र त्यहाँ भएका निर्णयकै आधारमा योजना अघि बढाउने गरिएको दाबी गर्दै उनले आफूले दुई पैसा पनि दायाबायाँ नगरेको जिकिर गरे ।
राहत रकम हिनामिना गरेको आरोप पुष्टि गर्न भन्दै अध्यक्ष शेर्पाले प्रमाण भए अदालत जान चुनौतीसमेत दिए ।
टिप्पणीहरू