टुटी पुछेर मुहान संग्लिन्छ र श्रीमान् !

टुटी पुछेर मुहान संग्लिन्छ र श्रीमान् !

फोहोर थुप्रिएको छ मुहानमा, धाराको टुटी सफा गरेर कहीँ संग्लो पानी आउँछ र श्रीमान् ? अहिले सर्वाेच्चका न्यायमूर्तिहरू यस्तै उल्टो यात्रामा हुनुहुन्छ । धाराको टुटी सफा राख्न फागुन तेस्रो सातादेखि श्रीमान्हरूको देश दौडाहा जारी छ ।

एकातिर सर्वाेच्च अदालतमा ३० हजार बढी मुद्दाको चाङ छ । छिटो छरितो न्यायसम्पादन गर्नुपर्ने न्यायाधीशहरूचाहिँ बेञ्च हापेर तल्ला अदालतको निरीक्षणमा मस्त र व्यस्त हुनुहुन्छ । सर्वाेच्चकै तथ्यांकअनुसार दश वर्षअघि १० हजार ४२२ थान मुद्दा फस्र्योट हुन बाँकी रहेकोमा अहिले तीन गुणाले थपिएर ३० हजार १ सयभन्दा बढी पुगिसकेको छ (फागुन मसान्तसम्ममा) । अघिल्लो आर्थिक वर्षसम्ममा फस्र्योट हुन बाँकी २४ हजार ७५६ थान मुद्दा रहेकामा सात महिनामा ५ हजार ३४४ थान मुद्दा थपिएको छ ।

९० दिनभित्रै मुद्दाको फैसला गरिसक्नुपर्ने कानुनी मान्यता रहे पनि सर्वाेच्चमा २ वर्ष नाघिसकेका मुद्दा १५ हजार ४३ थान छन् । उच्च अदालतमा ९६४ र जिल्ला अदालतमा यस्ता मुद्दाको संख्या ११४८९ थान छ । सर्वाेच्चकै प्रतिवेदनअनुसार एउटा न्यायाधीशको भागमा सरदर ३३४७ वटा मुद्दा पर्छ । पाँच वर्ष,दश वर्षसम्म नाघिसकेका मुद्दाको स्थिति उस्तै छ । भनिन्छ, ढिलो न्याय दिनु न्याय नदिनु नै हो ।

अहिले सर्वाेच्चका न्यायाधीशहरूले उच्च अदालत निरीक्षणका नाममा तल्तिरको दौड यसरी तीव्र पार्नुभएको छ कि त्यो देखेर तलका उपसचिव (कानुन/न्याय) का कर्मचारी प्रश्न गर्दै छन् ‘माथिको फोहोरचाहिँ कसले निरीक्षण गर्ने ? कसले सफा गर्ने ?’ अर्काे उपसचिवको प्रश्न छ, तल्ला अदालतको न्याय सम्पादन प्रभावकारी भएन भन्दै उहाँहरू कारवाहीको निर्देशन दिनुहुन्छ । उहाँहरूले गर्नुभएको न्याय सम्पादनचाहिँ के प्रभावकारी छ त ?होइन भने ३० हजार थान मुद्दाको चाङ किन लाग्यो सर्वाेच्चमा ?

अहिले संयोग ‘स्याल कराउनु र कुखुरा हराउनु’एकै पटक भइदियो । आइतबार केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध दायर गर्नुभएको रिटको पेशी तोकिएको थियो । त्यही छेकछन्द पारेर ११ जना न्यायाधीश एकै पटक जिल्लातिर निस्किएपछि मुद्दा छल्नकै लागि निस्किएको हो कि भन्ने प्रश्न पनि उठ्न थालेको छ । भएभरका न्यायाधीश जिल्लातिर निस्कँदा जसरी उक्त मुद्दा पेशी चढेर पनि हेर्न नमिल्नेमा पारी सारियो उस्तै हालत भयो डिआइजीहरूको हकमा ।

हरेक फागुन–चैत महिना सर्वाेच्चका न्यायाधीशले उच्च अदालत निरीक्षण र जिल्ला अदालतको अनुगमन गर्ने रुटिन । यसपटक पनि एकै पटक दर्जन न्यायाधीश काठमाडौं छाडेर निस्कँदा न्यायालय झण्डै ठप्पको स्थितिमा पुग्यो । यसअघि दश वटा इजलाश दैनिक बस्थ्यो तर आइत र सोमबार जम्मा ५ वटा मात्र बेञ्च तोकियो ।

हरिकृष्ण कार्की, मीरा खड्का, आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, बमकुमार श्रेष्ठ, हरि फुयाँल, सुष्मालता माथेमा, तेजबहादुर केसी, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, मनोजकुमार शर्मा अनुपस्थित रहनुभयो । ११ न्यायाधीशमध्ये सोमबार ईश्वर खतिवडा अदालतमा हाजिर हुनुभयो । आइतबार अर्थात् २० गते १४ भाइ एकीकृत समाजवादीका सांसदको पद खोस्नेदेखि पार्टीसमेत खारेज गर्ने मुद्दाको सुनुवाइका लागि अनिलकुमार सिन्हा, नहकुल सुवेदीको संयुक्त इजलासमा पेशी तोकिएकोमा सुवेदीले हेर्न नमिल्ने भन्दै २७ चैतलाई सरेको छ ।

त्यसदिन हरि फुयाँल र मीरा खड्का अनुपस्थित हुने पक्का छ । फुयाँल २८ गतेसम्मका लागि उच्च अदालत सुर्खेतको निरीक्षणमा निस्कने पक्का भइसकेको छ । यस्तै मीरा खड्का २० गते तुल्सीपुर इजलाश निरीक्षण गर्न निस्कनुभएकोमा २९ गते मात्र फर्कने कार्यक्रम छ । सर्वाेच्च प्रशासनले जनआस्थालाई दिएको जानकारीअनुसार प्रकाशकुमार ढुंगाना श्रीमान् २५ चैतसम्मका लागि घर बिदामा हुनुहुन्छ ।

विश्वम्भरप्रसाद श्रेष्ठ फागुन तेस्रो साता उच्च अदालत सुर्खेतको जुम्ला इजलास निरीक्षण गरेर १ चैतमा फर्कनुभएको थियो । उहाँ फर्किनुभएको पाँच दिनपछि कुमार रेग्मी दिपायलतिर निस्कनुभयो र १० दिनपछि राजधानी फर्किनुभयो । यही बीचमा ईश्वरप्रसाद खतिवडा श्रीमान् तुलसीपुरको निरीक्षण सकेर फर्किसक्नुभएको छ ।

मनोजकुमार शर्मा चैत १३ गते राजविराज पुगेर १७ गते आउनुभएको छ भने सपना प्रधान मल्ल जनकपुर उच्च अदालत निरीक्षण गरेर फर्किसक्नुभएको छ । बमकुमार श्रीमान् २५ तिर फर्कने गरी हिँड्नुभएकोमा विराटनगर अदालत निरीक्षणका लागि तेजबहादुर केसी पूर्व हान्निएर २६ गते मात्र फर्किने कार्यक्रम छ ।

टिप्पणीहरू