चुनाव लागेपछि देखिन थाल्यो अर्काको आङमा जुम्रा,आफ्नो भैंसी बेपत्ता

चुनाव लागेपछि देखिन थाल्यो अर्काको आङमा जुम्रा,आफ्नो भैंसी बेपत्ता

चुनाव नजिकिएसङ्गै राजनीतिक दलहरुले आफूले गरेका सकारात्मक पक्षहरु मात्र बाहिर ल्याउन थालेका छन् । चुनाव जितेर सत्तामा आउन प्रतिस्पर्धी दलहरुले काम नै नगर्ने जस्ता टिप्पणी गर्दै विभिन्न कार्यक्रम तथा सामाजिक सञ्जालमार्फत् यस्ता क्रियाकलाप गरेका हुन् । नेपाली काँग्रेस,माओवादी केन्द्र, नेकपा एमालेलगायतका दलमा पनि यस्तो अभ्यास देखिएको छ ।

विभिन्न सभा,समारोहमा एउटा दलको नेताले अर्को दलको नेतालाई हावामा नउडाएसम्म भाषण सफल नहुने मनोविज्ञान नेपाली नेताहरुमा बढ्दै गएको छ । जसको जल्दोबल्दो र पछिल्लो उदाहरण नेकपा एमालेका महासचिव शंकर पोखरेल बनेका छन् । उनले केही समय अघिमात्र सरकारमा रहेका पाँचदलीय गठबन्धनको कुनै लक्ष्य नभएको भन्दै फेसबुकमा लेखेका छन् ।

स्थानीय निर्वाचन नजिकिँदै गर्दा उनको पोष्ट चुनाव केन्द्रित भएको सर्वसाधारणको बुझाइ छ । लुम्बिनी प्रदेशको पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले एमालेले देश विकासमा महत्वपूर्ण भूमिका खेलेको सामाजिक सञ्जालमा लेखेका हुन् । उनको पोष्टमा एमालेले भूकम्पले थिलथिलो पारेको देशलाई उठाएको बताइएको छ ।

जनताका मुर्झाएका सपनालाई जगाएको, विकास र समृद्धिको यात्रामा सिंगो देशलाई अघि बढाएको, स्वाधीनता र स्वाभिमानको नयाँ यात्रा थालनी गर्दै गुमेको भूमि समेटेर नयाँ नक्शा प्रकाशित गरेको पनि पोखरेलले फेसबुकमा लेखेका हुन् ।

मुद्दा मामिला गरेर परामादेशबाट आएको गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई उठाउनै कठिन हुनेगरी थला बसाएको आरोप उनले लगाएका छन् । पोखरेलले गठबन्धन गरेर एमालेलाई हराउँछौं भन्दै ठूलो स्वर निकालेको पनि भनेका छन् । पाँचदलीय गठबन्धनसँग देश बनाउने भिजन,गन्तव्य र लक्ष्य नभएको उनले लेखेरै आरोप लगाएका हुन् ।

अर्कोतर्फ झण्डै तीन वर्ष दुई तिहाई बहुमतको सरकार सञ्चालन गरेको एमालेले खासै राम्रा काम नगरेको अरुले भन्दै आएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहँदा विकासभन्दा गफ बढी हाँक्नुभएको आरोप छ ।

जलविद्युतलाई छाडेर हावाबाट बिजुली निकाल्ने,पाइपबाट घर घरको चुलोमा ग्यास पुर्याउने, पोखरा–काठमाडौं रेल कुदाउने,पानीजहाजको टिकट कटाउनेजस्ता सपना मात्रै देखाउनुभएको विश्लेषकहरुको ठहर छ ।

उहाँमाथि दुई दुई पटक संसद विघटन गरेको गम्भीर आरोप लागेपछि सर्वोच्चमा परेको रिट निवेदनमाथि भएको आदेशबाट उक्त आरोप पुष्टि भएको बताइन्छ ।

टिप्पणीहरू