मुलुकको आर्थिक अवस्था बर्वाद भएको छैन-डा.विजय
नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले सरकारको ढुकुटीमा अझै साँढे छ महिनालाई वैदेशिक वस्तु तथा सेवा आयात गर्नसक्ने रकम भएको दाबी गर्नुभएको छ ।
आज पार्टी केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा युवा संघ नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
नेपालमा चर्चा भए जत्तिको आर्थिक संकट नभएको उल्लेख गर्दै भन्नुभयो,‘तरलता संकट समाधानको लागि रकम परिचालन गर्नुपर्छ । त्यसको लागि अहिले केही व्यवसायीले तिर्न नसकेको ऋणलाई पुनः पूँजीकरणको सुविधा दिनुपर्छ ।’
पौडेलले विदेशमा रहेका सबै नेपालीलाई आफूले कमाएको थोरै भए पनि पूँजी नेपालमा पठाउन आह्वान गरे पनि अहिलेको आर्थिक संकटको समाधान हुने बताए ।
‘सरकारले विदेशमा भएका सबै नेपालीलाई सानो आह्वान गरेर तलबको केही रकम तत्काल मुलुकमा पठाउन आह्वान गर्ने हो भने पर्याप्त विदेशी मुद्रा आउने छ ।’ त्यसपछि खासै समस्या नहुने भएकाले अहिलेको अवस्थालाई अफवाहको रुपमा नफैलाउन उहाँले सबैलाई आग्रह गर्नुभएको हो ।
टिप्पणीहरू