एमालेले कार्यकर्तालाई सूर्य चिन्हबाहेक अरु सिकाएन : मुख्यमन्त्री पाण्डे
वागमती प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले नेकपा एमाले वैचारिक हिसाबले तन्नम् भइसकेको बताउनुभएको छ । आफूहरुको विद्रोहको औचित्य प्रष्ट्याउँदै उहाँले एमालेमा केपी ओलीबाहेक अरु केही बाँकी नरहेको दाबी गर्नुभयो ।
ओलीमा मौलाएको चरम व्यक्तिवादी प्रवृत्ति सच्चिने कुनै लक्षण नदेखिएपछि आफूहरुले बाध्य भएर एमालेबाट विद्रोह गरि कम्युनिष्ट आन्दोलनको पुनर्गठन गर्नुपरेको पनि मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।
रामेछापको खाँडादेवी गाउँपालिकामा आयोजित बृहत कार्यकर्ता भेला तथा पालिका कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले विचार र सिद्धान्तविहीन पार्टीमा परिणत भएकाले विद्रोह अनिवार्य बनेको उल्लेख गर्नुभयो । एमालेसँग कुनै विचार र भिजन नभएकाले कार्यकर्तालाई सूर्य चिन्हबाहेक केही पनि नसिकाइएको पाण्डेको आरोप छ ।
एमाले विचार, सिद्धान्त तथा दर्शनविहीन भएको बुझ्न थालेपछि त्यहाँका इमान्दार कार्यकर्ताहरु धमाधम आफ्नो पार्टीमा प्रवेश गर्न थालेको बताउँदै उहाँले चुनावसम्म पुग्दा धेरैले एमाले छाड्ने दाबी गर्नुभयो ।
कार्यक्रममा एकीकृत समाजवादीका रामेछाप इञ्चार्ज देवशंकर पौडेल, सह इञ्चार्जत्रय होम बुढाथोकी, शान्ता सापकोटा र झम्क कँडेल तथा जिल्ला सचिव लालसिंह घिसिङलगायतले बोलेका थिए ।
आसन्न स्थानीय तहको निर्वाचनको तयारीलाइ तीब्र पारेको समाजवादीले रामेछापका ६४ मध्ये ४७ वडा र ८ मध्ये ५ पालिकामा पार्टीको कमिटी गठन गरिसकेको छ ।
सो भेलाले खाँडादेवी गाउँपालिकामा स्वरुपसिंह तामाङ मोक्तानको अध्यक्षतामा ६७ सदस्यीय पार्टी कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा टलकबहादुर तामाङ चयन भएका छन् भने सचिवमा तिर्थलाल श्रेष्ठ छानिएका छन् ।
टिप्पणीहरू