गठबन्धन भर्सेज गठबन्धन

गठबन्धन भर्सेज गठबन्धन

स्थानीय तह चुनावको मिति नजिकिएसँगै देशमा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । चुनावी अभियानमा होमिएका दलहरु गाउँ-गाउँ पुगेका छन् । कतिपय ठाउँमा धमाधम उम्मेदवारीसमेत घोषणा भैरहेका छन् । सत्तारुढ दलहरुबीच चुनावी तालमेल हुने निश्चित भैसकेको छ,तर प्रतिपक्षी एमालेले के गर्ला भन्ने चासो पनि उस्तै छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई चुनाव जित्न कुनै गठबन्धनको आवश्यकता नपर्ने भन्दै आउनुभएको छ । एक्लै चुनाव लडेर गठबन्धनलाई सोत्तर पारिदिने उहाँको सार्वजनिक घोषणा नै छ । ओलीले दाबीका साथ भन्ने गर्नुभएको छ – पाँचदलीय गठबन्धन एक-एक किलोका ढक हुन् भने एमाले एक्लै क्विन्टल हो । ‘धुलो चटाइदिने’,’पछार्ने’, ‘किचकाच पार्ने’ जस्ता आक्रामक अभिव्यक्ति ओलीबाट लगातार आइरहेको छ । ओलीमात्र होइन,अन्य नेताहरुका सार्वजनिक अभिव्यक्ति सुन्दा लाग्छ,एमालेले चुनाव जितिसक्यो ।

तर,भित्रभित्रै भने एमाले पनि पाँच दलबिरुद्ध अर्को गठबन्धन बनाउने प्रयासमा रहेको छर्लङ्ग देखिएको छ । केही दिनअघि मात्रै नेपालगन्ज पुगेर ओलीले राप्रपाका नेता धवलसमशेर राणासँग गोप्य भेट गर्नुभयो । उक्त भेटमा ओलीले आकर्षक प्रस्ताव गरेको राणानिकटहरुले बताएका छन् । यसले ‘नबोलेरै धेरै कुरा गर्ने’ ओली फर्मुला चुनावमा मज्जैले प्रयोग हुने अनुमान लगाउन सकिन्छ ।

त्यसो त,व्यवस्थाकै विरुद्धमा रहेको विप्लव नेतृत्वको नेकपादेखि गणतन्त्रविरोधी कित्तामा उभिएको राप्रपासम्म एमालेसँग चुनावी तालमेलका लागि तयार रहेको चर्चा पनि छ । सत्ता गठबन्धनबाहेकका दलहरुसँग सहकार्य गर्न सकिने एमाले नेताहरुको सार्वजनिक अभिव्यक्तिले पनि त्यस्ता चर्चालाई बढावा दिइरहेका छन् ।

तर,बजारमा सुनिएका चर्चालाई आधार मान्ने हो भने राजानिकट राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले भने एमालेसँग तालमेलका लागि खासै चासो देखाएको छैन । महाधिवेशनबाट छानिएको नेतृत्वविरुद्ध धारेहात लगाएर बाहिरिएका कमल थापासँग ओलीको दोस्ती नरुचाएका लिङदेन एमालेसँग गठबन्धन नगर्ने मनस्थितिमा रहेको निकटहरु दाबी गर्छन् । ओलीले सार्वजनिक मन्चबाटै ‘बाच्छो’ को संज्ञा दिएर आफूलाई कमजोर आँकेकाले झापामा आफ्नो शक्ति देखाइदिने लिङ्गदेनको तयारी छ भनिन्छ । केही दिनअघि दमकमा भव्य सभा गरेर लिङ्गदेनले शक्ति प्रदर्शन गरिसकेका छन् ।

राप्रपासँग मिलेर चुनावमा जाँदा गृहजिल्ला झापाका केही स्थान सुरक्षित बनाउन सकिने ओलीको भित्री हरहिसाव छ । तर, त्यसमा लिङ्गदेनले चासो नदेखाएपछि ओली धवलसमशेरलाई भेट्न पुगेको राप्रपाकै अर्कोथरि नेताहरुको बुझाइ छ । उक्त भेटमा ओलीले देशभर मिलेर जाने प्रस्ताव गर्नुभएको थियो । स्रोतले बताएअनुसार ओलीले देशव्यापी तालमेल गर्ने र राप्रपालाई निराश नपार्ने आकर्षक प्रस्ताव धवलसमशेरमार्फत पठाएपनि लिङ्गदेनले वास्ता गरेका छैनन् । बरु एमालेलाई हराउन आवश्यक परे सत्ता गठबन्धनसँग मिल्ने तयारी छ भनिंदै छ ।

लिङ्गदेनले टेरपुच्छर नलगाएपछि सांगठानिक हैसियत गुमाइसकेका कमल थापासँग मिल्न वार्ता समिति बनाइएको एमालेकै कतिपयको बुझाइ छ । तर, सांगठानिक धरातल नभएका कमल थापालाई बोकेर हिंड्न नहुने एमालेमा जवर्जस्त मत छ । ‘जात फाल्नु गहतको झोलमा’ भने झैँ राजावादीसँग मिल्नै परेपछि बरु चुनावी परिणाम धेरथोर प्रभाव पार्न सक्ने लिङ्गदेनसँगै मिल्नु उपयुक्त हुने एमालेका एक नेताले बताएका छन् । तर, एमालेमा ओलीले जे चाह्यो त्यहि हुने अवस्था बुझेका कमलले सूर्य चिन्ह लिएर चुनाव लड्ने इच्छा व्यक्ति गरिसकेका छन् ।

हुन त एमालेले राष्ट्रिय रुपमा कुनै पनि पार्टीसङ्ग गठबन्धन नगर्ने संस्थागत निर्णय गरेको छ । संगसंगै स्थानीयस्तरमा तालमेल गर्न सकिने भन्दै पाँच दलीय गठबन्धनमा रहेका दल बाहेकको अर्को गठबन्धनको सम्भावनालाई पनि अस्वीकार गरेको छैन । त्यहि निर्णयमा टेकेर एमाले अध्यक्ष ओलीदेखि तल्लो तहका नेताहरु पनि तालमेलको प्रस्ताव लिएर माओवादी केन्द्रका नेताहरुसम्म पुग्ने गरेको चर्चा पनि चलिरहेको छ ।

त्यसैले एमालेको नेतृत्वमा कट्टर हिन्दुवादी कमल थापादेखि,राजावादी राप्रपा हुँदै खुङ्खार क्रान्तिकारी विप्लवसम्मलाई एकै ठाउँमा जोड्ने रसायन खोजीको चर्चा मिथ्या हैन भने चुनावी प्रतिष्पर्धा गठबन्धन भर्सेज गठबन्धन नै हुने देखिन्छ । चर्चा कतिसम्म छ भने चुनावमा भाग लिन मसक्क आँटेर कपिलवस्तु झरेका विप्लवको त्यसअघि नै ओलीसंग तालमेलबारे सल्लाह भैसकेको थियो भनिन्छ । तर, अल्पमतमा परेको विप्लवको डकुमेन्ट परिमार्जन हुँदा सोलोडोलो तालमेलको अवस्था नबने पनि उम्मेदवार हुन नरोक्ने निर्णयले ओलीसँग हुने भनिएको सहकार्यको बाटो बन्द गरेको छैन ।

बताइएअनुसार विप्लवको प्रभाव रहेको पश्चिमका केही स्थानीय तहमा उनीहरुले उठाउने स्वतन्त्र उम्मेदवारलाई एमालेका कार्यकर्ताले भोट दिनेछन् भने अन्यत्र विप्लवहरुले सूर्यमा भोट हाल्ने सम्भावना छ । नेपाल बार एशोसिएसनको निर्वाचनमा सहकार्य गरेर विप्लवहरुले एमालेसँग चुनावी तालमेलको पूर्वसंकेत दिइसकेका छन् । बार चुनावको सन्दर्भमा विप्लव समूहका नेतासमेत रहेका अधिवक्ता एकराज भण्डारीले एमाले उपाध्यक्ष सुवास नेम्वाङले बोलाएको एउटा छलफलमा सहभागी भएर भाषण गरेको विषयलाई चुनावी तालमेलको पूर्वाभ्यासका रुपमा चर्चा गरिएको छ ।

विप्लव समूह र प्रधानमन्त्रीका रुपमा केपी ओलीबीच भएको सहमतिको तीन बुँदा उतिबेलै सार्वजनिक भएको र बाँकी चार बुँदा वैशाख ३० अगाडि नै क्रमश: खुल्दै जाने दाबी एकथरीको छ । उनीहरुका अनुसार प्रचण्डलाई कमजोर बनाउने ओलीको रणनीतिमा जानी नजानी विप्लवहरु प्रयोग हुँदा निकटता पनि झाँगिएको हो ।

टिप्पणीहरू