एक्कासी किन आए विदेशी सेनाका जर्नेलहरु ?
हिजो बिहान र दिउँसो चार घण्टाको फरकमा बेलायती र भारतीय सेनाका जर्नेलहरु काठमाडौंमा उत्रिए । तीमध्ये भारतीय जर्नेलले आज बिहान जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मासँग भेट समेत गरेका छन् ।
बेलायती मेजर जनरल जोनाथन कोले र भारतीय लेफ्टिनेण्ट जनरल प्रदिन चन्द्रन नायर एकैसाथ काठमाडौं आउनुलाई अर्थपूर्ण मानिएको छ । भारतीय जनरल तथा आसाम राइफलका महानिर्देशक नायर तीन सदस्यीय प्रतिनिधिमण्डल सहित आएका हुन् ।
नेपालले सूचना संयन्त्रको निगरानी बढाउन सेनासहितको टिमलाई जिम्मा दिने तयारी भइरहेको बेलामा बेलायतबाट त्यहि मामिला हेर्ने जर्नेल नेपाल आउनुलाई संयोग मात्र मान्न नसकिने बताइन्छ ।
कोले बेलायती सेनाका प्रमुख सूचना अधिकृत पनि हुन् । उनी बेलायती सेनाको सूचना रणनीति बोर्डका सदस्य हुन् । उक्त बोर्डले सेनाका सबै सेवा र क्षमतासँग सम्बन्धित गतिविधिको सुक्ष्म अध्ययन र निगरानी समेत गर्दछ ।
जसमा कमाण्ड सपोर्ट, गुप्तचर, निगरानी, लक्षित क्षेत्र र समूहलाई नियन्त्रणलगायतका कार्य समावेश छ । उक्त कार्यको निम्ति क्षमता विस्तार, स्तरोन्नती र डाटा विश्लेषणसम्मको कार्य गर्नुपर्ने हुन्छ ।
बेलायती सेनाको उक्त बोर्डले सेनाको साइबर र इलेक्ट्रोम्याग्नेटिक गतिविधिलाई समायनुकूल बनाउन आवश्यक कार्य गर्दै आएको छ । जर्नेल कोले यस्ता व्यक्ति हुन् जसले सैन्य सुरक्षा नीति र स्रोतको निम्ति सूचना, व्यक्ति र भौतिक व्यवस्थापनको जिम्मेवारी लिएका छन् ।
यसअघि उनी सेनामा सैन्य सेवा सूचना प्रविधिको प्रमुख थिए । उनकै पालामा एक लाख सैनिकको कार्यस्थललाई डिजिटल बनाइएको थियो । त्यसअघि उनले सेनाको सूचना सेवा विभागको प्रमुुख प्रविधि अधिकृतको जिम्मेवारीमा रहेर कार्य गरेका थिए ।
जर्नेल कोनेले बेलायतको शाही सुरक्षा, हङकङमा रहेको गुर्खा इन्फान्ट्री ब्रिगेड, बेलायतको एअरबोर्न ब्रिगेड, इलेक्ट्रोनिक वारफेर रेजिमेण्ट र बेलायती सेनाको संयुक्त सुरक्षा बलको मुख्यालयमा बसेर काम गरिसेकेको अनुभव पनि छ ।
अहिलेसम्म उनले टु सिग्नल रेजिमेण्ट र इलेभन सिग्नल ब्रिगेडको जिम्मेवारी पनि सम्हालेका छन् । बेलायती सेनाको तर्फबाट कोलेले सियरालियोन, इराक, आइभरीकोस्ट, लेबनान र अफगानिस्तानमा समेत जिम्मेवारी निभाएका थिए ।
पेशाले सूचना प्रविधि इञ्जिनियर रहेका उनले एमएस्सी डिफेन्स टेक्नोलोजीमा गरेको बताइन्छ । त्यसैगरी आन्तरिक सुरक्षा तथा रणनीतिमा एम ए पनि गरेका हुन् । कोलेले बेलायतको डिफेन्स एकेडेमीबाट जुनियर, एडभान्स, हाइएर र रोयल कलेज अफ डिफेन्स स्टडिजको कोर्स पूरा गरेका छन् ।
उनी यसअघि कर्नेल हुँदा बेलायती सेनाको क्वीन्स गुर्खा सिग्नल्स रेजिमेण्टमा थिए । साथै, गुर्खा वेलफेयर ट्रस्टको ट्रस्टी पनि हुन् । उनी सेनाका हिउँदे खेलकुद, आइस स्पोर्टस, रग्बी, साइक्लिङ र ट्रायथलोनका अध्यक्ष, उपाध्यक्षसमेत हुन् ।
भारतीय सेनाका जर्नेल प्रदीप चन्द्रन नायर अहिले आसाम राइफल्सका महानिर्देशक पनि हुन् । यसअघि सोही राइफल्सका इन्स्पेक्टर जनरल समेत थिए । नेपालमा उक्त राइफल्सका झण्डै १५ हजार भूतपूर्व सैनिक छन् ।
भारतीय जर्नेल नायर भूतपूर्व भारतीय सैनिकको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन् । कार्यक्रम पोखरा र काठमाडौंमा हुँदैछ । हिजो आएको उक्त टोली आगामी शुक्रबार स्वदेश फर्किने बताइएको छ ।
काठमाडौंस्थित भारतीय दूतावासको मिलिटरी अट्याचीको समन्वयमा आज बिहान नायर र उनको टोलीले जंगी अड्डामा प्रधानसेनापतिसँग भेट गरेको सैनिक जनसम्पर्क महानिर्देशनालयले जनाएको छ ।
तर बेलायती जर्नेलको नेपाल आगमनको बारेमा महानिर्देशनालयले अनभिज्ञता जनाएको छ ।
टिप्पणीहरू