मनिषाको त्यो रिल लाइफ र यो रियल लाइफ

मनिषाको त्यो रिल लाइफ र यो रियल लाइफ

रिलमा जे गरिन्छ त्यो रियल लाइफमा लागू हुँदैन र रियल लाइफमा जे गरिन्छ हुबहु रिलमा त्यसो गर्न सकिँदैन । त्यसका स्वाद फरक फरक हुन्छन् । रिलमा उनी सौतेनी आमाको भूमिकामा छिन्, रियलमा कसैकी प्रेमिका । रिलमा उनीसँग अथाह धन सम्पत्तिको पोको छ, रियलमा गोजी रित्तो । रिलमा उनको एकलौटी हैकम चल्छ तर, रियलमा उनी कसैको अण्डरमा छिन् । उनलाई कुनै फुक्काफाल छैन । तैपनि, रिलमा उनलाई पतिको अपार माया छ, तर रियलमा पीडै पीडा !

यही पीडाले थिचिएकी मनीषा (नाम परिवर्तन) को टाउको हलुंगो छ । पेशाले कलाकार हुन् । विशेषगरी सिरियल (कमेडियन) मा देखिन्छिन् । फाट्टफुट्टा म्युजिक भिडियो र चलचित्रमा पनि भूमिका निर्वाह गर्छिन् । सिरियलको कमाइले गुजारा चलाउने मनीषा स्नातकोत्तर सकेर बसेकी छन् । कपन बस्ने उनी कसैको अण्डरमा बसेर हप्कीदप्की खेप्न चाहन्नन् । जात खस, संगत जनजाति । घरमा सुँगुर, तोङ्बा खाने त नामै उच्चारण गर्न मिल्दैन । तर, घरबाट निस्केपछि खान्की त्यही । अध्ययन अंग्रेजी साहित्य, विचार फेमिनिस्ट क्रान्तिकारी ।

भोजपुरबाट ०७० सालमा काठमाडौं छिरेकी मनीषा स्कुले जीवनदेखि नै सफल नायिका बन्न चाहन्थिन् । स्कुलमा छँदा विभिन्न नाटकमा भाग लिन्थिन् । एसएलसीअघि जिल्लामा आयोजित नाटक मञ्चन प्रतियोगितामा पनि सहभागी भइन् । उनको टोलीले दोस्रो स्थान हासिल गर्यो । नाटकमा उनी सौतेनी श्रीमतीको भूमिकामा थिइन् । उनलाई प्रेमीले झुक्याएर माया जालमा पारेको नाटक थियो त्यो ।

स्कुले जीवनमा त्यही भूमिका निर्वाह गरेकी मनीषाको अहिले पनि हालत उही हो । भूमिका हेर्दा बडो दमदार छ । प्रस्तुति पनि ठ्याक्कै सौतेनी आमाकै । अविवाहित भए पनि सौतेनी आमाको भूमिकामा मनीषाको पात्र यति सुहाएको छ कि कतै खोट लगाउने ठाउँ नै छैन । रिलमा उनीसँग त्यस्तो कुनै दुःख, गुनासो, पीडा देखिँदैन तर रियलमा उनीजस्तो पीडित को होला र ! प्रेमीले त्यतिबेला तुच्छ वचन लगाउँथे । सुटिङ स्थलमै पुगेर, कहिले फोन गरेर सुनी नसक्नु गाली गर्थे । तैपनि, मनीषा आफ्नो क्षेत्रबाट हलचल भइनन् । बरु सम्बन्ध जुनै अवस्थामा पुगोस्, स्वीकार्न तयार थिइन् ।

५ वर्षसम्म मलजल पाएको माया ०७८ सालको कात्तिकमा आएर विसर्जन भयो । सम्बन्ध टुंगिनाको कारण भने मनीषाको रंगीन दुनियाँ रोजाइ होइन । प्रेमी सुजनले मनीषालाई कलाकारिता रोजे पनि केटाहरूसँग नजिक नहुन, मनपेट खोलेर गफगाफ नगर्न बारम्बार भनिरहन्थे । तर, मनीषा कसैको छातामुनि ओत लाग्न चाहने स्त्री थिइनन् । हक्की स्वभावकी उनी सुटिङ स्थलमा प्रायः केटाहरूसँगै गफिन्थिन्, कफी पिउँथिन् । प्रायःजसो सुजन मनीषालाई सुटिङस्थलमै भेष बदलेर पछ्याउने गर्थे । सुटिङ स्थलमा मनीषाका यी तमाम हर्कत देखेर सुजन खाना बसाएपछि सिट्टी लाग्न लागेको कुकरजस्तै बम हुन्थे । घर फर्किंदा प्रहरीले चोरलाई जसरी केरकार पार्थे ।

एक दिन, रातोपुलको एउटा होटलमा मनीषाको सुटिङ थियो । मनीषाले प्रेमीको जुठो वाइन पिउनुपर्ने थियो । उनले स्क्रिप्टअनुसार नै त्यसै गरिन् । यी सब हर्कत चोर भेषमा नजिकै बसेका सुजनले देखे । तर, त्यति नै बेला प्रतिक्रिया दिन सकेनन् । सुटिङ सकिएपछि टोली बिदा भए । मनीषाले पनि होटलको गेटबाट खुट्टा के मात्र निकाल्न खोजेकी थिइन् सुजन खुट्टा समाएर धरधरी रुन थाले । मनीषा अवाक भइन् । होटलका मान्छेहरू यो देखेर कानेखुशी गर्न थाले । मनीषा न अघि बढ्न सकिन् न केही बोल्न । बल्लतल्ल फकाइ फुलाइ गरेर सुजनलाई त्यही होटलको कोठामा लिएर गइन् ।

बुझ्दा थाहा भयो कारण त्यही दृश्य रहेछ । त्यसपछि जंगिने पालो थियो मनीषाको । ‘तैँले मलाई माया गरेको हो कि चोरलाई पुलिसले पछ्याएजस्तो गरेको हो । यदि यस्तो हो भने आजैको दिनदेखि मलाई छाड् । यस्तो भुमरीमा बाँच्न मन छैन बुझिस् !’ मनीषाको रिस देखेर सुजन केहीबेर मौन देखिँदै भने, ‘तिमीलाई मैले कहिल्यै सिरियल खेल्न नहिँड भनेको छु ? छैन नि ! मात्रै सिरियलमा यस्तो सिन नदेऊ भनेको मात्र हुँ । के यसो भन्नु मेरो गल्ती हो ?’ त्यसपछि मनीषाले दिउँसै तोरीको फूल देखिन् र झापड हानिन् गालामा । रन्थनिएका सुजन पनि के कम सिसाको गिलासमा मुड्की बजारे ।

त्यसपछि स्थितिले बेग्लै रूप लियो । होटल र वरिपरि बसेका गेष्ट भागाभाग गर्न थाले । साहु आएर दुवैलाई थर्काए, ‘तपार्इंहरू इमान्दारीसाथ निस्कनुहुन्छ कि प्रहरी बोलाऊँ ?’ त्यसपछि दुवै पुलमुनि हुँदै बाहिरिए । अघि–अघि मनीषा, पछि–पछि सुजनले पछ्याइरहे । फेरि तमाशा शुरु भयो कपनको क्याफेमा पुगेर । त्यहाँ पनि सुजनले यस्तै रडाको मच्चाए । साहुले दुवैलाई निकालेर पहिलेकोले जसरी थर्काए । यो युद्धले हप्ता दिन बोलीचाली बन्द भयो ।

हप्ता दिनपछि सुजन आफैँले माफी मागे । मनीषा एक रत्ति पनि प्रभावित बनिनन् । उल्टै सम्बन्ध तोडेर आनन्दले जीवन चलाउन सुझाव दिइन् । तर, सुजन उनको मायामा पागल भइसकेका थिए । हुन त मनीषालाई सुजनले भएभरको माया मात्र होइन दया पनि दिएका छन् । मनीषालाई कतै जानुपरे खल्तीबाट पर्स निकालेर पकेट खर्च दिन्थे । सुजनबाट आर्थिक सहयोग पाएर मनीषा पनि आर्थिक रूपमा स्वतन्त्रजस्तै देखिन्थिन् । उनलाई परिवारले खर्च दिनुपर्थेन ।

५ वर्षको बीचमा मनीषा र सुजनबीच अनेक खटपट आयो, गयो । झगडा परेपछि दुबैबीच महिना दिनसम्म नबोलेको समेत इतिहास छ । पछि सुजन आफैँ डुहुरे मुसाजस्तो भिजेर सम्बन्ध अघि बढाउन पुग्थे । मनीषा नखरा पार्दै फेरि सुजनको प्रस्ताव चाहेर, नचाहेर स्वीकार्न बाध्य हुन्थिइन् । फेरि सम्बन्ध वैशाखमा पलाएको मुनासरी पलाउँथ्यो । तर, केही दिन नपुग्दै मायाका मुना भाँचिन थाल्थे ।

यही वर्षको कात्तिक महिना । मनीषाले सुटिङ सकेर केटा साथीहरूसँग औधी वाइन पिइन् । पिउँदा पिउँदै कति पिएँ भन्ने हेक्कै भएन । हिँड्नै नसक्ने भएकी थिइन् । राति साढे १० बजे एयरपोर्ट होटलबाट साथीहरूले पठाओ मगाएर घरको लोकेशन दिई पठाए । तर, पठाओ चालकले उनको हर्कत देखेर गौशालामै छाडिदिएछ । धन्न, प्रहरीले फेला पारेनछ । मनीषाले आफूलाई बीच बाटोमै अलपत्र पारिएपछि भन्ठानिछन्, ‘म अपहरणमा परेँ’ । त्यसपछि सुजनको साथी राजेशलाई फोन गरेर आफू मातेको मौको छोपेर कसैले अपहरण गरेको भन्दै बचाउन गुहार मागिन् ।

घटना सुनेपछि राजेशले दरबारमार्ग प्रहरी वृत्तमा रहेका दाइलाई फोन गरे । दाइले मनीषाको नम्बर ट्रेसिङ गरेर खोजीकार्य अघि बढाए तर मनीषा फेला परिनन् । राजेशमार्फत घटनाबारे जानकारी पाएका सुजनलाई थाहा थिएन उनले एयरपोर्ट होटलमा साथीहरूसँग भेटेको । यो थाहा पाएपछि सुजन मनीषाको उद्धारभन्दा पनि माया मार्ने चरणमा पुगे । र, खोजी कार्य नगरी बेवास्ता गरे । पछि राजेशलगायतले मनीषालाई गौशालाको भण्डारखाल झाडीमा सुतिरहेको अवस्थामा भेटेर उद्धार गरे ।

त्यस्तो अवस्थामा साथ नदिने के प्रेमी ? जिउसँग मस्ती गर्ने के मायालु ? त्योभन्दा कुकुर नै बेस कमसेकम सुरक्षा त दिन्छ भन्दै मनीषाले सुजनलाई यात्राबाट छाडिदिइन् । फेसबुकबाट ब्लक गरिन् । अहिले दुबैको सम्बन्धमा फुल स्टप लागेको ६ महिना पुग्न लाग्यो । सम्बन्ध फुटेपछि सबैभन्दा फाइदा मनीषालाई भएको छ । किनकि उनले अब विगतजस्तो तनाव झेल्नु पर्दैन । सम्बन्ध टुटेपछि उनले भनेकी थिइन्, ‘रिल र रियल लाइफ बुझेँ ।’

-उही मनीषालाई नजिकबाट चिन्ने मान्छे

टिप्पणीहरू