आफूले भनेझैँ उम्मेदवारी दिन नपाए काँग्रेस एक्लै भिड्ने
नेपाली काँग्रेस रोल्पाले समग्र पालिका र वडामा आधा हिस्सा नपाए तालमेल नगर्ने भएको छ । काँग्रेसले हिजो जिल्ला पार्टी कार्यालयमा गरेको बृहत छलफलबाट रोल्पाका १० वटा पालिकामध्ये पाँच वटामा प्रमुख र पाँच वटामा उपप्रमुखमा दाबी गर्ने निश्कर्ष निकालेको हो ।
यस्तै ७२ वटा वडामध्ये ३६ वटामा एक सदस्यसहित अध्यक्ष र ३६ वटामा तीन सदस्य पाउनै पर्ने, नभए एक्लै चुनावमा जाने जनाएको छ ।
गठबन्धन दलहरुले काँग्रेसको निर्णय मान्न तयार भए तालमेल गर्ने, नभए सौहार्दपूर्ण तरिकाले एक्लै चुनावमा जाने निश्कर्षमा पुगेको नेपाली काँग्रेस रोल्पाका सभापति किशोरकुमार आचार्यले बताए ।
‘जिल्ला कार्य समिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र १४औं महाधिवेशनका जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका प्रत्यासीहरुको उपस्थितिमा भएको बृहत अन्तरक्रियाको सुझावअनुसार हामी निश्कर्षमा पुगेका हौं,’ सभापति आचार्यले भने ‘सोहीबमोजिम नै निर्वाचनमा जाँदा उपयुक्त हुने हाम्रो ठहर छ ।’
गठबन्धनका अन्य दल सहमत भएमा सोहीबमोजिम गर्ने र नभएमा एकल ढंगले मित्रवत रुपमा सौहार्दका साथ प्रतिस्पर्धामा भाग लिन पार्टीका क्षेत्र, पालिका तथा वडा समितिहरुलाई निर्देशन दिएको समेत नेपाली काँग्रेस रोल्पाले जनाएको छ ।

टिप्पणीहरू