‘एमाले–राप्रपा सहकार्य अपवित्रहरुको पवित्र गठबन्धन’

‘एमाले–राप्रपा सहकार्य अपवित्रहरुको पवित्र गठबन्धन’

एकीकृत समाजवादी सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले मुलुकको राजनीति दुई ध्रुवमा बाँडिएका बेला विचार मिल्नेहरू एक ठाउँमा उभिन शुरु भएको बताएका छन् । नेकपा एमालेले आज पूर्वपञ्चहरुको पार्टी राप्रपा नेपालसँग चुनावी तालमेलको सहमति गरेपछि पराजुलीले यस्तो टिप्पणी गरेका हुन् ।

सत्तारुढ पाँचदलीय गठबन्धनलाई अप्राकृतिक भन्दै आएको एमालेले चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने घोषणा गरेको थियो । तर, आफ्नै घोषणाविपरित एमाले व्यवस्थाविरोधी शक्तिसँग हातेमालो गर्न पुगेपछि आफ्नै पूर्वपार्टीमाथि पराजुलीले कटाक्षपूर्ण टिप्पणी गरेका हुन् ।

उनले एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाको विचार उस्तै भएकाले उनीहरुको सहकार्यलाई अचम्म मान्न नहुने पनि बताएका छन् ।

अध्यक्ष पराजुलीले भनेका छन्, ‘गणतन्त्र विरोधी कमल थापासँग नै केपी ओलीको पार्टीको सहकार्य हुनु उचित हो, किनकि स्वयम् ओली अहिलेको जनताको व्यवस्था लोकतान्त्रिक गणतन्त्रको सच्चा विरोधी हुन् । विचार र सिद्वान्तको जग समाप्त भएपछि गर्ने भनेको सहमति यस्तै प्रतिगमन र प्रतिगामी कित्तामा उभिनेहरुसँग हो ।’

पराजुलीले गठबन्धन के का लागि ? भनेर पनि प्रश्न गरेका छन् । ‘गठबन्धन संविधानको रक्षा गर्न लाग्ने कि यो संविधानलाई समाप्त गर्न लाग्ने ?’, उनले सोधेका छन्, ‘फैसला जनताको ।’ मदन भण्डारीको तस्बिरमुनि बसेर जनताको व्यवस्थालाई चुनौती दिन लज्जाबोध हुँदैन ? भनेर उनले एमाले नेताहरुलाई कटाक्षपूर्ण प्रश्न पनि गरेका छन् ।

पाँचदलीय गठबन्धनविरुद्ध एक्लै भिड्ने दाबी गर्दै आएको एमालेले केही बेरअघि राप्रपा नेपालसँग देशभर चुनावी तालमेल गरेर जाने सहमति गरेको हो । सहमतिमा एकले अर्को पार्टीका उम्मेदवारलाई सघाउने र सहमति कार्यान्वयनका लागि तल्लो तहबाटै छलफल गर्ने जनाइएको छ ।

यता, एमाले–राप्रपा सहमतिलाई लिएर एमालेका केही नेता असन्तुष्ट छन् । जनाधार गुमाएर तन्नम भइसकेका कमल थापालाई बोकेर केपीले गल्ति गरेको एक नेताले बताए । राप्रपा नेपालसँगको तालमेलले एमालेलाई फाइदा नहुने बरु राजनीतिक नैतिकताका दृष्टिले उल्टै घाटा हुने उनको बुझाइ छ ।

‘के फाल्नु गगतको झोलमा’ भने झैँ राजावादीहरुसँग तालमेल गर्ने नै भए पनि जनाधार भएको राजेन्द्र लिङदेनसँग गरेको भए एमालेका लागि केही फाइदा हुन्थ्यो होला’, नाम नलेख्न आग्रह गर्दै उनले भने, ‘तर, एमालेमा आजकाल हाम्रा कुरा कहाँ सुनिन्छ र ! बाले चाहेपछि सक्कियो’, उनले भने ।

गणतन्त्रविरोधी शक्तिसँग सहकार्य गरेर एमालेले चुनावको मुखमा विपक्षीलाई विरोध गर्ने मसला दिएको उनले बताए ।

टिप्पणीहरू