पोखरेली कार्यकर्तालाई देउवाको प्रश्न : टिकट पाएर मात्रै हुन्छ, जित्नु पर्दैन ?

पोखरेली कार्यकर्तालाई देउवाको प्रश्न : टिकट पाएर मात्रै हुन्छ, जित्नु पर्दैन ?

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको प्रष्ट अडान छ– एक्लै चुनावमा जाँदा काँग्रेसलाई घाटा हुन्छ, गठबन्धन गर्नुपर्छ । गठबन्धन दललाई चिढ्याउने गरि शीर्ष नेताहरु नै मनलाग्दी बोल्न थालेपछि केन्द्रीय कार्यसमिति बैठकमै देउवाले सचेत गराउनुभएको थियो । गठबन्धनविरुद्ध सार्वजनिक अभिव्यक्ति नदिन उहाँले निर्देशनसमेत दिनुभयो ।

भरतपुरको मेयर नपाए गठबन्धन तोड्नेसम्मको चेतावनी दिने चितवनका नेता कार्यकर्तालाई त देउवाले उल्टै एक्लै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जित्न चुनौती दिएको चर्चा पनि बाहिरिएको छ । एमाले अहिले पनि स्थानीय तहमा बलियो रहेकाले गठबन्धन गरेर चुनावमा जाँदा काँग्रेसले बढी सिट जित्नसक्ने देउवाको तर्क रहँदै आएको छ ।

एक्लै चुनाव जितिने दाबी गर्ने नेता–कार्यकर्तालाई उहाँले गत २०७४ सालको चुनावी परिणाम स्मरण गर्न सुझाउने गर्नुभएको छ । आज पोखराको मेयर नछाड्न दाबी गर्दै आएको पोखरेली काँग्रेसको टोलीसँग पनि देउवाले चितवनका कार्यकर्तासँग जस्तै एक्लै जित्ने आधार खोज्नुभएको छ ।

सत्तारुढ गठबन्धनले पोखरा महानगरको मेयर एकीकृत समाजवादीलाई छाडेको चर्चा चलेपछि देउवालाई भेटेर सम्झाउन भन्दै कास्की काँग्रेसको टोली हिजो काठमाडौं आइपुगेको थियो । सभापति किशोरदत्त बरालसहितको टोलीले काँग्रेस एक्लै जित्न सक्षम रहेकाले पोखरा महानगर नछाड्न देउवाको ध्यानाकर्षण गरायो । बरालले आफूहरू पोखरामा एक्लै बलियो रहेको भन्दै चुनावी तालमेल गरे मेयर पद काँग्रेसले पाउनुपर्ने जबर्जस्त भनाइ राखेका थिए । सहमहामन्त्री जीवन परियारबाट पनि पोखरा अहिले काँग्रेसको अनुकूलमा रहेको रिपोर्टिङ आएको थियो ।

तर, सभापति देउवाले भने महानगरको गठबन्धनबारे छलफल नै अघि नबढेकाले बाहिरी हल्लाका भरमा धारणा नबनाउन सचेत गराउनुभएको बताइएको छ । ‘कुरा नै भएको छैन, छलफल भएकै छैन । बाहिरको कुरामा विश्वास नगर्नुस्,’ देउवालाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘तपाईंहरू अरुको कुरा सुनेर धारणा बनाउनुहुन्छ । समाचारमा सत्यता छैन ।’

सो क्रममा देउवाले पोखरामा एक्लै चुनाव जित्ने आधार पनि खोज्नुभएको थियो । ‘गठबन्धन नगर्ने भन्नुहुन्छ । एक्लै चुनाव जित्ने आधार के छ ? पहिले एक्लै चुनाव लडेको होइन ? के हालत भयो ?,’ देउवाले अघि भन्नुभयो, ‘गठबन्धन गर्नुपर्छ । हामीले मेयर पाउँदा को हो उम्मेदवार ? सहमतिबाट टुंग्याउन सक्नुहुन्छ ?’

देउवा भेट्न गएका टोलीमध्ये अधिकांशले आफैँले टिकट पाउनुपर्ने आन्तरिक लविङसमेत गरेका थिए ।

टिप्पणीहरू