नयाँ वर्षको शुभकामनामा पनि गाली नै गाली
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनले राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप लगाउनुभएको छ । नयाँ वर्ष २०७९ सालको उपलक्ष्यमा आज बिहान जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्तामा अनुचित भागबण्डा र लेनदेन गरेर राज्यस्रोतको दोहन गरिएको दाबी गर्नुभएको हो ।
ओलीले गत वर्ष राजनीतिक स्थिरताको दृष्टिकोणले सुखद् नरहेको पनि बताउनुभएको छ । ’केही अवाञ्छित शक्तिका प्रतिगामी उद्देश्य र केही राजनीतिक व्यक्तिहरुको जङ्गली आकांक्षा, कुण्ठा र इष्र्याका कारण केही वर्षदेखि शुरु भएको हाम्रो विकास र समृद्धितर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न हुन पुग्यो,’ उहाँले भन्नुभएको छ, ‘ विसंगति, बेथिति र अस्थिरताका पुराना दुषित खेलको फेरि पुनरावृत्ति भएको छ ।’
गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्यशक्तिको दुरुपयोगमा सक्रिय भएको ओलीको दाबी छ । ‘व्यवस्थापिका निकम्मा हुन पुगेको छ । कार्यपालिकाको छायाँमुनि न्यायपालिका क्रमशः आफ्नो स्वतन्त्र पहिचान गुमाउँदै छ । संवैधानिक विचलन र अराजकताको विकृत उत्पादनको रुपमा जन्माइएको कर्तव्य, लक्ष्य तथा गन्तव्यहीन कार्यपालिका अकर्मण्य मात्रै होइन भ्रष्टाचारमा निर्लिप्त छ,’ उहाँको आक्रोश छ, ‘केही वर्षयता हामीले सुरु गरेको विकासको राष्ट्रिय बहसको सट्टा अहिले सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनमा केन्द्रित हुन पुगेको छ ।’
ओलीले यतिखेर मुलुक आर्थिक संकट उन्मुख रहेको पनि दाबी गर्नुभएको छ । आफू नेतृत्वको सरकारले दुरुस्त छाडेको अर्थतन्त्र गठबन्धन सरकारले भत्काएको आरोप लगाउँदै उहाँले सरकारको ध्यान स्वार्थसिद्धिमै केन्द्रित रहेको बताउनुभएको छ ।
टिप्पणीहरू