बालकोटमा नाम पठाउन तीन हजार रुपैयाँ !

बालकोटमा नाम पठाउन तीन हजार रुपैयाँ !

मेयर र उपमेयरका उम्मेदवार छान्न पूर्वनिर्धारित निर्वाचन रद्द गर्दै नेकपा एमाले पोखरा महानगर कमिटीले सबै आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेर पठाएको छ । एक दर्जन आकांक्षीबाट तीन–तीन जनाको नाम सिफारिस गर्न उम्मेदवारी दर्ता भइसकेको अवस्थामा एकाएक चुनाव स्थागित गरि सबैको नाम बालकोट पठाइएको हो ।

यसअघि चुनावबाट उम्मेदवार चयन गर्ने गरि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो । ‘पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुख पदको सिफारिस निर्वाचन–२०७९’ ले उम्मेदवारी दर्ताको सूचना निकालेर मनोनयन आह्वान गरेको थियो । प्रस्तावक र समर्थकसहित तीन हजार मनोनयन शुल्क बुझाएर मेयरका लागि १२ जना र उपमेयरका लागि ९ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

तर, आज बसेको महानगर कमिटीको बैठकले आकांक्षी सबैको नाम सिफारिस गरेर पठाउने निर्णय गरेको हो । अन्तिम समयमा मतदान रोकिएपछि आकांक्षीहरु भने रुष्ट भएका छन् । केन्द्रले चाहेको व्यक्तिले हार्ने स्थिति बनेपछि ठाडो हस्तक्षेप गरेर महानगरको अधिकार खोसेको भन्दै एमाले कास्कीका एक जना नेताले आक्रोश पोखेका छन् । उनका अनुसार अब अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विवेक प्रयोग गरेर एक जनाको नाममा ‘ओके’ गर्नुहुनेछ ।

आन्तरिक प्रतिस्पर्धालाई लोकतन्त्रको उच्चतम अभ्यास भन्दै एमालेले अरु कतिपय स्थानीय तहमा पनि उम्मेदवार चयनका लागि चुनाव गराएको थियो । तर, पोखरामा भने चुनावले अन्तरकलह चर्किने र बिग्रह ल्याउने सम्भावना बढेपछि केन्द्रको हस्तक्षेपमा चुनाव रद्द गरिएको बताइन्छ ।
‘स्वस्थ प्रतिस्पर्धा गर्दा बिग्रह हुन्छ भनेर मापदण्ड विपरित सबैका नाम सिफारिस गर्ने निर्णय भएको छ । यसरी सबैको नाम पठाउनु गलत हो । अब माथि ’बा’ ले नै तोकेर पठाइदिनुहुन्छ । त्यसलाई सबैले स्वीकार गर्लान् !’, उनले भने ।

एमालेले उम्मेदवार सिफारिस गर्दा यसअघि नै मापदण्ड बनाएको छ । जसमा एक महिलासहित बढीमा तीन जना सिफारिस गरेर उपल्लो कमिटीमा पठाउनुपर्ने व्यवस्था छ । महानगरको उम्मेदवार केन्द्रले नै टुंगो लगाउने हुँदा आकांक्षीमध्येबाट तीन जनाको नाम सिफारिस गरेर पठाउनुपर्नेमा महानगर कमिटीले भएभरका सबैको नाम पठाउने निर्णय गरेको हो ।

‘वडाबाट सिफारिस हुँदा तीन जनाभन्दा बढी नलिने महानगर कमिटीले आफ्नो सिफारिस चाहिँ यति धेरै गर्न मिल्छ ?’, उनले भने, ‘केन्द्रको निर्देशनमा यो काम भएको छ । आफ्ना ‘खास मान्छे’ ले आन्तरिक चुनावमा नजित्ने देखेपछि सर्वसम्मतको नाटक गरियो ।’

मंगलबार मेयरमा १२ र उपमेयरमा ११ जनाले आकांक्षा देखाएका थिए । आज उपमेयरमा भने नौ जनाले मात्रै मनोनयन गरे । मेयरमा केन्द्रीय सदस्यहरू भीमबहादुर कार्की, कृष्णबहादुर थापा, राजीव पहारी, मीनाकुमारी गुरुङ, रश्मी आचार्य, विश्वकल्याण पराजुली, दर्शन लामा, पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपकबहादुर पौडेल, बालसिंह काउचा मगर र सावित्री भण्डारीले उम्मेदवारी दिएका थिए ।

त्यस्तै, उपमेयरमा शोभामोहन पौडेल, जीवनप्रसाद आचार्य, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी त्रिपाठी, बलराम गायक, विनकुमारी गुरुङ र सुष्मा पौडेलले उम्मेदवारी दिएका थिए ।

टिप्पणीहरू