चुनावको मुखमा काँग्रेसले पौने ३ लाख दिने
सत्तारुढ दल नेपाली काँग्रेसले पार्टीको पक्षमा उत्कृष्ट चुनावी गीत बनाउनेलाई मनग्ये पैसा दिने घोषणा गरेको छ । प्रतिपक्ष एमालेले पार्टीको पक्षमा टिकटक बनाउनेलाई रकम अफर गरेकै शैलीमा काँग्रेसले पनि उत्कृष्ट अडियो–भिडिओ बनाउनेलाई पौने तीन लाख नगद दिने जनाएको हो ।
काँग्रेसको पक्षमा चुनावी गीत बनाएर प्रचारमा योगदान गर्न चाहानेलाई अडियो–भिडियो निर्माण गरेर त्यसको लिंक निर्वाचन प्रचार–प्रसार समितिअन्तर्गतको सांस्कृतिक समन्वय उपसमितिको फेसबुक म्यासेन्जरमा पठाउन भनिएको छ ।
गीतमध्ये दर्शक, श्रोता र छनोट समितिको निर्णयका आधारमा उत्कृष्ट ठहरिने उपसमिति संयोजक डी.बी. गुरुङले बताए । त्यसरी छनोट भएको गीतलाई धनराशीबाट पुरस्कार प्रदान गरिने उनले बताएका छन् ।
केन्द्रीय प्रचार–प्रसार सांस्कृतिक समन्वय उपसमितिका संयोजक गुरुङले पुरस्कार अफर गर्दै भनेका छन्, ‘स्थानीय निर्वाचनलाई लक्षित गरि नेपाली काँग्रेसको पक्षमा चुनावी गीतहरु (अडियो/भिडियो) निर्माण गरि प्रचार–प्रसार भइरहेको गीत नेपाली काँग्रेस केन्द्रीय प्रचार–प्रसार सांस्कृतिक समन्वय उपसमितिको फेसबुक म्यासेन्जरमा पठाइदिनुभएमा दर्शक, स्रोता तथा छनोट समितिको निर्णयबमोजिम पार्टीको पक्षमा तयार पारिएको उत्कृष्ट गीतलाई २,७५,०००।– (अक्षरेपी दुई लाख पचहत्तर हजार रुपैयाँ) धनराशीबाट पुरस्कृत गरिने व्यहोरा सम्पूर्ण लोकतन्त्रवादी कलाकारमा जानकारी गराउँछु ।’
टिप्पणीहरू