माओवादीद्वारा यसअघि निर्वाचित जनप्रतिनिधिलाई नदोहोर्याउने निर्णय
माओवादीको आधार इलाका मानिएको रुकुम पश्चिममा आसन्न स्थानीय तहको लागि उम्मेदवार छानिएको छ । नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले बैशाख ३० गतेको चुनावका लागि उम्मेदवारहरुको टुंगो लगाएको हो ।
मुसिकोटमा आज बसेको स्थानीय तहको निर्वाचन प्रयोजनार्थ गठित उम्मेदवार छनौट तथा सिफारिस समितिको बैठकले पालिकाका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षका उम्मेदवारहरु टुङ्गो लगाई प्रदेश समितिमा सिफारिस गर्ने निर्णय गरेको हो ।
समितिले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई नदोहोर्याउने निर्णय गरेपछि नयाँ अनुहार सिफारिस गरेको हो । पहिलो स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधिमा चयन भएका नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई नदोहोर्याउने निर्णयसँगै आजै पालिकाका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षका उम्मेदवारहरुको टुङ्गो लगाएको हो ।
नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमका प्रचार विभाग प्रमुख ध्रुव विक्रम बुढाथोकीका अनुसार जिल्लाको चौरजहारी नगरपालिकाको प्रमुखमा पुष्प वादी र उपप्रमुखमा ईश्वरी कुमारी शर्मा बिएमको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी आठविसकोट नगरपालिकाको प्रमुखमा रवि केसी र उपप्रमुखमा धनकुमारी शाहीलाई सिफरिस गरिएको छ । मुसिकोट नगरपालिकाको प्रमुखमा वसन्तकुमार शर्मा र उपप्रमुखमा मिलन खड्कालाई सिफारिस गरिएको बुढाथोकीले जानकारी दिए ।
त्यसैगरी सानीभेरी गाउँपालिकाको अध्यक्षमा बिर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका पुनलाई सिफारिस गरिएको छ । त्रिवेणी गाउँपालिकाको अध्यक्षमा गणेशकुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउलेको सिफारिस भएको छ । बाँफिकोट गाउँपालिकाको अध्यक्षमा चन्द्रबहादुर केसी र उपाध्यक्षमा तारा बुढा केसीलाई चयन गरेर सिफारिस गरिएको हो ।
बैठकले जिल्ला समन्वय समिति प्रमुख पदको लागि महिला उम्मेदवार बनाउने निर्णय गरेको छ । गठबन्धनको निर्णय कार्यान्वयन गर्न आवश्यक परेमा जोकोहीको पनि उम्मेदवारी फिर्ता हुनसक्ने विकल्प समेत राखिएको निर्णयमा उल्लेख छ ।
टिप्पणीहरू