जनयुद्धताकाको कहिल्यै नबिर्सने त्यो ज्यादती
माओवादी कार्यकर्ताले पिटेर (०५५ फागुन २६) धुजा–धुजा पारेको थैलाजस्तै शरीर एकाबिहानै हेलिकप्टरमा दाङ लगी उनको महेन्द्र अस्पतालमा ५ हजार ५ सय तिरेर उपचार गरियो । लगत्तै अर्कोदिन भेरी अस्पताल बाँके पु¥याइयो । त्यहाँ औषधि उपचारबापत ३० हजार तिरेर हार्जङ फर्केको भाउजू देवी रोकामगर बताउँछिन् । दाङ, बाँकेपछि काठमाडौँस्थित वीर अस्पतालमा उपचार गरियो ।
हस्तेको उपचारमा ०५५ सालतिर डेढ लाखभन्दा बढी खर्च भयो । तर हेलिकप्टर खर्च नेकपा (एमाले) ले तिरेको स्थानीयहरू बताउँछन् । हस्तेका जेठो छोरा त्योबेला १७ वर्ष पुग्दै थिए । कान्छाचाहिँ चानचुन १२ वर्ष पुगेका थिए होलान् । परिवारको अवस्था कमजोर । कमाउन कालापार जानैपर्ने बाध्यता । गाउँका साथीभाइसँगै जेठो छोरा भारततिर लागे ।
खोज्दै भारत पुगेका छोरा बुबा कुटिएर बोल्न–चल्न नसक्ने भएको एक वर्षपछि घर फर्किए । लामो समयसम्म उतै मजदुरी गरेर बुबाको उपचार खर्च तिरेको उनी बताउँछन् । ‘म¥यो भनेर माओवादीले झाडीमा फालेका रहेछन् । धन्न, बा बाँचेछन्,’ उनले भने । तत्कालीन माओवादीले मच्चाएको आतंक रोक्न ड्युटीमा बसेका हस्ते कुटिएपछि हार्जङ गाउँ दशकसम्म त्रासमै बाँच्यो ।
‘ऋण खोजेर औषधि उपचार गर्नुप¥यो । कसैले सहयोग गरेनन् । ऊबेला डेढ लाख सकियो । औषधि उपचार सप्पै मैले तिरेँ,’ हस्तेकी भाउजू देवी बताउँछिन् । उनी पनि राम्रोसित कान सुन्दिनन् । बिरामी छिन् । माओवादी कार्यकर्ता आजभोलि पनि गाउँ छिर्दा उनीहरूको निन्द्रा खोसिन्छ । ‘पुराना दिनहरू सम्झेर हामीलाई डर लाग्छ,’ हस्तेका जेठो छोरा भन्छन् । विगत खोतल्दै जाँदा उनी घटनाअघिका बुबा सम्झेर बोली नै बन्द गर्छन् ।
घर आँगनमा जिउँदो शहीद अर्थात् हस्ते रोकामगर गलेर पल्टिएको देख्दा पनि न विद्रोही, न त राज्यपक्ष– कसैले कुनै सहयोग गरेनन् । उपचारपछि जिल्ला भित्रिँदा पनि माओवादी त्राशले महिनौँसम्म घर फर्किन सकेनन् । फेरि मार्छन् कि भनेर घर नफर्किएको स्थानीय बलबहादुर रोकामगर बताउँछन् । ‘मेरो घर जल्यो । साथीहरूको हत्या गरियो । हस्ते बोल्दैन, हिँड्दैन । धन्न म भने बाँचेछु,’ उनी भन्छन् ।
दुई दशकअघि मृत्युको मुखबाट फर्किएका हस्ते रोकामगर (७१) ‘हार्जङ नरसंहार’ सम्झेर अझै पनि बेलाबेला झस्किन्छन् । अतीत स्मरण गर्दा मन पोल्छ । उल्टै बर्बराउँछन् । दश वर्षे सशस्त्र द्वन्द्व सम्झियो कि पुरानो घाउ बल्झन्छ । सो घटनाले आजभोलि गफिन सक्दैनन्, तर मनको व्यथा भने संकेतले व्यक्त गर्छन् ।
‘हार्जङ घटना’ वर्षौंअघि रोल्पालीको मनबाट नमेटिने तीतो कथा हो । ०५५ सालतिरको युद्धकालिन जर्जर समय । हार्जङतिरै बन्दुक बोकेर हिँड्ने क्रुर ‘कमरेड’हरू । विद्रोही र राज्यपक्षको हिंसात्मक आतंक । अनि, अहिलेपनि मनमा दुखिरहने २६ फागुनको कहालीलाग्दो मध्यरात । समय बित्दै छ । तर हस्तेको पीडा ज्यूँका त्यूँ छ । न भाग्छ, न लुकाउन नै मिल्छ । बाँच्दै जाँदा सबै कुरा छुट्छन् । छुट्नु जिन्दगीको नियति पनि हो । हिजो छुट्यो, आज सम्झन सकिन्छ ।
तर चोटहरू बिर्सन सकिँदैन । मनमा बिझाउने काँडा बनेर घोचिरहन्छ । उनी सम्झन मात्रै सक्छन्, त्यो झण्डै काल बनेको कथा । सकिनसकी भन्छन्– कस्सो ज्यानचाहिँ बचेछ । माओवादी आन्दोलनका हजारौँ गुण होलान् । तर, हस्तेसँग भने भारी गुनासो छ । बेदना र पीडाको समुन्द्र छ । ‘मलाई नै किन छानीछानी मरणासन्न हुनेगरी कुटियो ? जनयुद्धले मेरो जिन्दगी बर्बाद बनायो । अपांग बनेँ । हिँड्नै नसक्ने भएँ । बोल्न पनि सक्दिनँ,’ उनले दुःखेसो पोख्दै भने ?
आज पनि उनी घरछेउ वरिपरी लत्रिरहेका हुन्छन्, जहाँ दर्जनौं माओवादी कार्यकर्ताले मर्नेगरी पालैपालो अन्धाधुन्द पिटेका थिए । घरभित्र बसेका उनलाई लखेट्दै–लखेट्दै झाडीछेउ पु¥याए । लाठीले कुटे, ढाड भाँचिनेगरी पिटे । टाउकोमाथि खुकुरी प्रहार गरे । अनि, म¥यो भन्ठानेर भागे । तर भाग्यमानी रहेछन् । धन्न बाँचे । शारीरिक र मानसिक यातना भोगेका छन् । त्यो पीडा, अनि हालत सम्झँदा जिन्दगीलाई बाँच्नुको मात्र सार्थकता ठान्दैनन्, हस्ते । राम्रोसँग बोल्न पनि सक्दैनन् । न हिँडुडुल गर्न नै सक्छन् । दुईवटै खुट्टा चल्दैनन् । शरीर झन् कमजोर हुँदै गएको छ । अर्काको सहाराबिना बोल्न–चल्न पनि धौ–धौ छ । माओवादी नेता–कार्यकर्ता तथा स्थानीय तहका जनप्रतिनिधिले अहिलेसम्म उनको घर–आँगन टेकेका छैनन् रे… ।
उनी पूर्ण अपांग छन् । तर अपांग भत्ता पनि पाएका छैनन् । पटकपटक प्रयास गर्दा पनि स्थानीय सरकारले वास्ता नगरेको गुनासो छ । दश वर्षे सशस्त्र द्वन्द्वमा दुःख पाएका, घरबास गुमाएका कैयौंले लाखौं पाए । तर उनले भने फुटेको कौडी पाएका छैनन् । न त घाउमा मल्हम पट्टी लगाउन कसैले चासो नै देखाएका छन् । स्थानीय सरकार स्थापना हुँदा हस्तेको मनमा केही आशाका किरणहरू नपलाएका हैनन् । ‘यो सब बेकार लागेको छ । किनकि, सरकार भनेको त हुनेखानेको लागि रै’छ । कहाँ, हामीजस्तो हुँदा खानेलाई हेर्दोरहेछ र,’ उनी भन्छन् ।
युद्धताका रोल्पाको पूर्वी भेगमा तत्कालीन नेकपा (माओवादी) को राम्रो प्रभाव थियो । उनीहरू त्यहिँ दिनभर हराउँथे । रातको समय घर–घरमा छिर्थे । उनीहरू घरमा होस् कि नहोस् खाना बनाउन भन्दै बास माग्थे । डिमाण्ड हुन्थ्यो । गाउँलेहरू पनि सुरु–सुरुमा सहजै बस्न दिन्थे । विस्तारै माओवादी कार्यकर्ताले घरका भित्ता–भित्तामा पार्टीको नारा लेखेर जान थाले । दुःख कहाँ माओवादीको मात्र थियो र ! अर्कोदिन दिउँसोतिर सेना गाउँ छिर्दा स्थानीय कुटिन, पिटिन थाले ।
माओवादी कार्यकर्ता सक्रियताकै कारण सेनाको त्रास भोगे पनि गाउँहरू सचेत हुन्थे । स्थानीय नारा नलेख्न पटकपटक आग्रह पनि गरे, तर माओवादीले पटक्कै सुनेनन् । गाउँलेले कुटाइ खाएको माओवादीलाई कुनै पर्वाह थिएन, चाहे सेनाले कुटोस् या पिटोस् । लगत्तै, रातिराति गाउँमा छिरेर लुकिछिपी ‘माओवादी–जिन्दावाद’ जस्ता नारा लेख्ने क्रम रोकिएन । निरन्तर चलिरह्यो । बिहानै सेना बस्तीमा छिरेर सर्वसाधारणमाथि हातपात गर्नु सामान्य जस्तै थियो । सेनाको क्रूर आतंकबाट जोगिन गाउँलेले नारा मेटाएपछि माओवादी कार्यकर्ताले ‘किन मेटाएको’ भन्दै स्थानीयमाथि कुटपिट गर्थे । भन्थे– सेनालाई सघाउन थालिस् ।
त्योबेला हार्जङवासीले सेना र माओवादी आतंकबाट जोगिन नारा मेटाउने अभियान थाले । ०५५ फागुन २४ गतेको राति गाउँले र माओवादी कार्यकर्ताबीच झडप भयो । लगत्तै माओवादी कार्यकर्ता आक्रामक हुन थाले । ०५५ फागुन २६ गतेको त्यो बिहानपख स्मरण गर्दा हस्ते अहिले पनि डराउँछन् । उनी भालेको डाँकोसँगै पिटिए । उज्यालो पर्खी बसेका उनका आठ जना साथीहरू अर्को घरमा जिउँदै जलाइए । उनी भने शरीर मर्नेगरी सदाका लागि थलिए । हस्तेमाथि माओवादी कार्यकर्ता नराम्रोसँग जाइलागे । उनीहरूले मानवता नै भुले ।
नजिकै प्रहरी थिएन । रात पर्न थालेपछि घर–घरमा माओवादी आतंक सुरु हुन्थ्यो । सबैभन्दा पहिले उनीमाथि कुटपिट गरे । लगत्तै दर्जन बढी मानिस सुतिरहेको घरमा ढोका थुनेर आगो दन्काए । उनी भन्छन्, ‘साथीहरू जिउँदै जलाइए । तर म भने बाँचेँ । घरछेउबाट हेलिकप्टरले दाङ लगेछ ।’
टिप्पणीहरू