बालुवाटारबाट निस्केपछि प्रधानमन्त्री आफ्नै नेताहरुप्रति आक्रोशित
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको उल्लेख गर्दै आफ्नै पार्टीको कार्यक्रममा आक्रोश व्यक्त गर्नुभएको छ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघको स्थापना दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा गठबन्धनको विपक्षमा रहेका पार्टी नेताहरुप्रति आक्रोशित हुँदै उहाँले त्यस्तो भन्नुभएको हो ।
पार्टीका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र शेखर कोइराला पक्षधरहरु चुनावी गठबन्धनको विपक्षमा रहेको बेला उहाँले एक्लै पार्टीले चुनावमा बहुमत ल्याउन नसक्ने ठोकुवा गर्नुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै पनि पार्टीको बहुमत आउने सम्भावना छैन । त्यसैले चुनावी तालमेल गर्नुपर्ने देखिन्छ ।’ उहाँको भनाइ थियो, ‘यो संविधानअनुसार कुनै पनि पार्टीको एकल बहुमत आउने सम्भावना छैन । कसै न कसैसँग त गठबन्धन गनैपर्छ । त्यसैले यही गठबन्धनलाई कायम राख्नु उचित देखिन्छ ।’
उहाँले गठबन्धनको विपक्षमा रहेका नेताहरुतर्फ संकेत गर्दै संसदीय चुनावमा हारेको क्षणलाई स्मरण गर्न आग्रह गर्नुभएको छ । गठबन्धनकै कारण अहिले धेरै ठाउँमा काँग्रेसको सरकार रहेको पनि नजरअन्दाज नगर्न उहाँले सुझाउनुभएको छ । उहाँले भन्नुभयो, ‘हामीले संसदीय चुनावमा हारेका हौँ । अहिले गठबन्धनकै कारण धेरै ठाउँमा काँग्रेसको सरकार छ । धेरै ठाउँमा मुख्यमन्त्री र मन्त्री छन् । धेरै ठाउँमा हामीले भाग पाएका छौं । के यो बेठीक हो ?’
टिप्पणीहरू