यौन दुर्व्यवहारको उजुरी सुन्ने अधिकारी तोकियो
त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले यौन दुर्व्यवहारसम्बन्धी उजुरी सुन्ने अधिकारी तोकेको छ । विश्वविद्यालय वा क्याम्पस परिसरभित्र कर्मचारी वा अध्ययनरत विद्यार्थीहरुमाथि हुने यौन दुर्व्यवहारको उजुरी सुन्न अधिकारी तोकिएको हो ।
कार्यकारी परिषद्को गत पुस २५ गतेको निर्णयले कार्यस्थलमा हुने यौन दुर्व्यवहार निवारणका लागि पीडित शिक्षक,कर्मचारी र विद्यार्थीले दिएको उजुरी सुन्ने अधिकारीको रुपमा सम्बन्धित निकाय प्रमुखलाई तोकिएको छ । त्यसैगरी,केन्द्रीय कार्यालयको हकमा शिक्षाध्यक्षलाई उजुरी सुन्ने अधिकारी भनिएको हो ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय वा यसको परिसर, क्याम्पस,अनुसन्धान केन्द्र,अध्ययन संस्थान,संकाय वा यसअन्तर्गतको परिसरभित्र कसैलाई यौनजन्य दुर्व्यवहार गरेमा वा गराएमा १५ दिनभित्र तोकिएका दुई जनासमक्ष लिखित वा मौखिक गुनासो दिन सकिने विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कसैले आफ्नो पद, शक्ति वा अधिकारको दुरुपयोग गरी कुनै किसिमको दबाब,प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरी कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा कुनै प्रकारको यौनजन्य दुर्व्यवहार गरे पीडित कर्मचारी, सेवाग्राही वा निजका तर्फबाट जोसुकैले त्यस्तो व्यक्तिउपर व्यवस्थापकसमक्ष १५ दिनभित्र लिखित वा मौखिक गुनासो दिन सकिने र त्यस्तो गुनासो परेमा व्यवस्थापकले तुरुन्त छानबिन गर्नेछ ।’
टिप्पणीहरू