यति लेख्दा कारवाही भए सहुँला बुझाउँला

यति लेख्दा कारवाही भए सहुँला बुझाउँला

जनताको सुस्केरा यस्तो छ– महँगी के विधि बढेको हो, कसरी चलाउने हो गुजारा, स्कुल, कलेजको फिस कसरी तिर्ने? हामीले त पढेनौं÷पढ्न पाएनौं तर के छोराछोरीले पनि नपढ्ने हो त अब ? तिनले पनि गिट्टी कुट्ने ? अरबतिरै जाने वा लाहुरै जानुपर्ने हो ? आत्मसम्मानसाथ देशमै काम गरेर बस्न नपाउने ?

राजनीतिक दलहरू भित्रबाट पनि कार्यकर्ताका उस्तै सुस्केरा निस्किरहेका सुनिन्छन् – के हामी फगत रोबोटजस्ता कार्यकर्ता हौं आदेशको मात्रै पालना गर्ने ? के हाम्रो विवेक र स्वत्वको कुनै अर्थ छैन ? के हामीले न्याय, निष्पक्षता र क्षमताको मूल्यांकनको माग गर्नु हुँदैन ? यस्तो गर्नु अपराध हो ?

वर्षौंदेखि पार्टी निर्माणमा लागेका इमानदार कार्यकर्तालाई जिम्मेवारीसहित टिकट दिने र चुनावमा जिताउने होइन कि सन्दुकमा धन र आचरण डन भएका, जस्तोसुकैलाई पार्टीमा भित्र्याउने, जिम्मेवारी प्रदान गर्ने र टिकट दिएर जिताउने अर्थात् जिताउनुपर्नेलाई होइन कि जसरी पनि जित्न सक्छ भन्नेलाई उकास्नेतर्फ सबै राजनीतिक दल बढी सक्रिय देखिन्छन् । यसको अपवाद एमालेमात्रै हुने कुरै भएन । अहिले राजनीतिक दलहरू लोकतान्त्रिक विधि, प्रक्रिया र अभ्यास गरेर नैतिक तथा चरित्रयुक्त राजनीति होइन कि जुनसुकै हथकण्डा अपनाएर चुनाव जित्ने लाजनीति गरिरहेका छन् । यस्तो राजनीतिले मुलुकलाई समृद्धितर्फ होइन कि अन्ततः लाने भनेको अराजकता, भद्रगोल र बेथितितर्फै हो । जिल्लातिर पार्टी फेर्नेहरूको लहर चलेको छ । यता टिकट नपाउने उता र उता नपाउने यता !

कतिसम्म भने पहिलो चुनावदेखि आजसम्म कहिल्यै एउटै दलबाट नलडेकाहरू दल परिवर्तन गर्दै टिकट पाउने अवस्थामा बसेका छन् र यस्ता दलबदलुहरूको स्वागतमा बडेबडे हस्ती नै फूलमाला र अबिर लिएर हेलिकप्टरमा ठाउँठाउँ कुद्दैछन् । जीवनको महत्वपूर्ण समय र ऊर्जा दल निर्माणमा लगाएका, देश र जनताको हितनिम्ति संघर्षमा खर्चिएका तमाम मान्छेहरू पाखा पारिएका छन् । यिनीहरूको मनमा के गुज्रिरहेको होला ? यस्तो विषयमा कतै पनि आवाज उठेको देखिन्न र उठाउने हिम्मत कार्यकर्ताले जुटाउन सकिरहेका छैनन् । मुख बज्यो कि छुरा चल्योको अवस्था छ जताततै, डरको वातावरण छ । राज्य आतंक भन्थे, पार्टी आतंक छ ।

राज्य कसरी चलेको छ भनिरहनै परेन । रुस–युक्रेन झगडाको बहानामा राज्यको मौनतामा व्यापारीहरूले गरिरहेको ब्रह्मलुट हेरेपछि थाहा हुन्छ । राज्य र दलाल पुँजीपतिहरूको अघोषित गठबन्धनले जनतालाई गुजारा चलाउन नसक्ने अवस्थामा पुर्याईसकेको छ । दाल, तेल, चामल, मट्टीतेलको भाउ अकासिएको छ । औषधोपचार उस्तै महँगो भएको छ । तर, यसतर्फ ध्यानै छैन ।

कुनै पनि चुनाव संसदीय राजनीतिलाई चलाइरहने पांग्रा हो । लोकतन्त्रमा राजनीतिक दलको स्वीकार्यता मापन गर्ने नियमित प्रक्रिया हो । अन्यथा नभएसम्म चुनाव जहिले पनि समयमा हुने गर्छ र साथसाथै यसको वैधानिकताको समयसीमा पनि तोकिएको हुन्छ । जतिसुकै र जतिधेरै संख्या र मतान्तरले जिते पनि तोकिएको समयावधिको निम्ति मात्रै हो । त्योभन्दा पर त्यसको कुनै वैधानिकता रहन्न । त्यसकारण चुनाव भनेको जनतासमक्ष आफूले गरेका प्रतिबद्धता पूरा गर्नेतर्फ के कति काम गरियो र त्यो कामलाई जनताले अनुमोदन गरे कि गरेनन् भनेर चेकजाँच गर्ने र त्यसैको आधारमा शासनको वैधता हासिल गर्ने माध्यम हो । आफूले जाहेर गरेका प्रतिबद्धता पूरा गर्न सके जनताको मन–मस्तिष्क जित्न सकिन्छ र त्यसैको आधारबाट आउने चुनाव पनि अनुकूल हुन्छ अन्यथा चुनाव हार्न पनि सकिन्छ ।

तर, आजभोलि चुनावलाई अवसर होइन कि अधिकारजस्तो गरी लिने र त्यो अधिकार गुमाउन नचाहने, जसरी पनि कायम राखिरहने एउटा नराम्रो चलन बस्न खोजिरहेको देखिन्छ । बुझ्नैपर्ने कुरा यो हो कि चुनाव लोकतन्त्रलाई स्वस्थ, गतिशील र जीवित राख्ने प्रक्रिया हो । चुनाव कसैलाई शासक बन्ने÷बनाउने साधन होइन । चुनाव दैवी शक्ति कसैलाई सत्ता माथि प्रदान गर्ने ओैजार वा माध्यम पनि होइन तर धेरैले चुनावलाई यही मकसद पूरा गर्ने माध्यम बनाउन चाहेको देखिन्छ । चुनाव जुनसुकै तहको किन नहोस् त्यो आवधिक हुन्छ र यसैमार्फत जनताले चुन्ने हो । चुनावमा गठबन्धन गर्नैपर्ने खण्डखातिर आइलागेको अवस्थामा विचार, सिद्धान्त र उद्देश्य मिल्नेहरूको बीचमा हो । विचार, उद्देश्य केही पनि नमिल्ने तर सत्ताको भागबण्डामा गर्ने कुराले गठबन्धन अपवित्र त हुन्छ नै, जनताप्रतिको ठूलो गद्दारी पनि हो ।

एउटा माक्र्सवादीले दक्षिणपन्थी राजावादीलाई वा साम्राज्यवादी पुँँजीवादीलाई किन र केका लागि भोट गरेर चुनावमा जिताउने अथवा उनीहरूले साम्यवादीहरूलाई किन भोट गर्ने ? के तिनै र केही मान्छेलाई सत्तामा राखिराख्ने हेतुले चुनावमा भोट गर्ने हो ? उताबाट देउवा, कमल थापा र महन्त ठाकुरहरू मात्रै संसद र सत्तामा पुग्नुपर्ने, यताबाट ओली, प्रचण्ड र माधव मात्रै पुग्नुपर्ने हो ? सत्तामा त आफ्नो विचार, नीति र कार्यक्रमको आधारमा एमाले, कांग्र्रेस वा राजपा वा राप्रपा पो पुग्नुपर्ने हो, होइन र ? राजनीतिको योभन्दा विकृत रूप अर्को हुनै सक्दैन ।

हिन्दीमा एउटा कहावत छ, ‘न खाता न बही, मैने जो कहा वही सही’ । हिजोसम्म गठबन्धनलाई कुहिएको फर्सी भनेर गाली गर्ने, नकार्ने हामी आज आफैँ गठबन्धनमा बाँधिन पुगेका छौं र त्यो पनि घोर दक्षिणपन्थीसँग । गठबन्धन गर्ने यो निर्णयको सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ । सामाजिक सञ्जाल अहिले ‘….एमाले आधाआधा हो’ भन्नेजस्तो लाजमर्दो टिप्पणीले भरिएको छ । हिजो सत्ता हातमा लिएपछि बहालवाला मन्त्रीलाई कार्यक्रम स्थलबाटै गिरफ्तार गरेर थुन्ने यिनै होइनन् र ? यिनीसँग गठबन्धन गरेपछि यस्ता टिप्पणीहरू आउनु स्वाभाविक छ ।

हामीले आफ्नो क्षमतामा चुनाव लडेर ताकतको पहिचान गर्नुपर्छ । एउटा चुनाव हार्दैमा वा प्रतिपक्षमा पुग्दैमा आकाश खस्दैन । बरु कुनै पनि प्रकारको गठबन्धनको बिपक्षमा रहने हो भने अरुलाई पनि अपवित्र गठबन्धन नगर्न नैतिक दवाव पर्नेछ र उनीहरू पनि गठबन्धनमा नजान बाध्य हुनेछन् । सत्तामा रहेर आफूले भनेअनुसार जनताको पक्षमा काम गरिएको छ भने चुनावमा त्यही कामलाई अघि सारेर जान डराउनुपर्ने कुनै कारण छैन । बरु यसमा आजको ज्वलन्त मुद्दा महँगाई, बेरोजगारी, भ्रष्टाचार, सामाजिक–आर्थिक न्याय, विकासजस्ता मुद्दा समावेश गरेर चुनावमा जाने र जनतासँग रहेर काम गरेका÷गरिरहेका र जनप्रतिनिधि बनाउनैपर्ने कमरेडहरूलाई अघि सारेर जाने हो भने यसले जनताको मन–मस्तिष्कलाई जित्न सक्छ, जनतालाई भोट हाल्न उत्साहित बनाउन सक्छ । खोइ यस्तो विचार, कार्यक्रमको दस्तावेज ?

अन्त्यमा, माक्र्सवादी र साम्राज्यवादी, प्रगतिशील र प्रतिगामी, वामपन्थी र दक्षिणपन्थी कहिल्यै पनि एउटै र समान हुनै सक्दैनन् । वर्गसमन्वयमा स्खलन भएको नेतृत्वले समान देख्लान् र यिनीहरूलाई भोट हाल्ने र हाल्न लगाउने काम गर्न सक्लान् तर वर्ग संघर्षमा विश्वास गर्ने म र मजस्ता माक्र्सवाद, प्रगतिशील र वामपन्थी विचारमा भरोसा राख्दै भुइँ तहमा रहेर वर्ग संघर्ष गरिरहेका कसैले पनि तिनीहरूलाई भोट हाल्ने वा अरूलाई पनि भोट हाल्न लगाउने काम गर्नुहुन्न । बाँकी जे होला सहुँला–बुझाउँला ।

टिप्पणीहरू