ललितपुरमा काँग्रेस र माओवादी ‘भित्र’, समाजवादी “बाहिर’

ललितपुरमा काँग्रेस र माओवादी ‘भित्र’, समाजवादी “बाहिर’

आसन्न स्थानीय तहको चुनावमा ललितपुरमा एकीकृत समाजवादी पाँचदलीय गठबन्धनबाट ‘आउट’ भएको छ । काँग्रेस र माओवादी केन्द्रले मात्रै चुनावी तालमेल गरेपछि समाजवादी रुष्ट बनेको छ ।

ललितपुर,गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस, महालक्ष्मी नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र तथा उपप्रमुखमा काँग्रेस, कोन्ज्योसोम गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार उठ्ने भएका छन् ।

त्यस्तै, बागमती गाउँपालिकाको अध्यक्षमा कांँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र,महाँकाल गाउँपालिकाको अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी केन्द्रलाई दिँदा एकीकृत समाजवादीलाई भने पाखा लगाइएको छ ।

ललितपुर महानगरपालिकामा मेयर काँग्रेसलाई र उपमेयर माओवादी केन्द्रलाई दिने गरी पहिले नै निर्णय भएको थियो । गठबन्धन गरेर अगाडि बढ्ने भनिए पनि एकीकृत समाजवादीलाई छुटाउनु अन्याय बाहेक अरु केही नभएको एकीकृत समाजवादी ललितपुरका सहइञ्चार्ज अमृत तिमिल्सिनाले बताउनुभयो ।

उहाँले काँग्रेस र माओवादीले हेपेको बताउँदै आफ्नो पार्टीमा छलफल जारी रहेको जानकारी दिनुभयो । ललितपुरका विभिन्न स्थानीय तहमा को उम्मेदवार बन्ने भन्नेबारे भोलि थाहा हुने तिमिल्सिनाको भनाइ छ ।

आज ५ बजे र भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । एमालेले अधिकांश स्थानमा भोलि मात्र उम्मेदवार दर्ता गर्ने संस्थागत निर्णय गरेको छ ।

टिप्पणीहरू