पति वकिल–पत्नी मालपोतकी हाकिम
मालपोत विभाग र जिल्लास्थित कार्यालयमा घुसखोरी तथा भ्रष्टाचार बढी मात्रामा हुने गरेका समाचारहरु बारम्बार आइरहने गर्छन् । ताप्लेजुङ मालपोतमा पनि यसअघि भ्रष्टाचारका केही हल्ला हुने गरे पनि आधिकारिक पुष्टि भने हुन सकेको थिएन ।
तर २०७८ सालको संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७९ बैशाख १ गते प्रवल जनसेवा श्री चतुर्थ ग्रहण गरेकी ताप्लेजुङ मालपोत कार्यालयकी अधिकृत लेखा पनेरु ११ दिन नबित्दै डेढ लाख घुस रकमसहित पक्राउ परेकी छन् ।
ताप्लेजुङको फक्ताङलुङ—७ की एउटी सेवाग्राहीले आफ्ना अंशियारबीच भागबण्डा भइसकेको जग्गा दाखिल खारेज गरी नयाँ दर्ता गर्ने कामका लागि मालपोत अधिकृतलाई घुस दिनु परेको उजुरीका आधारमा उनी पक्राउ परेकी हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो । यस्तो हर्कत विगतदेखि नै हुँदै आएको हुनसक्ने स्थानीय कर्मचारीहरु बताउँछन् ।
राज्यले प्रदान गरेको विभूषण र घुसका विषयमा जनमानसमा केही आशंकाहरु उब्जेका छन् । कस्ता कर्मचारी पुरस्कृत हुन्छन् ? उनको पारिवारिक पृष्ठभूमि के हो ? उनले जोडेका घरजग्गा र धनसम्पत्ति कहाँ कहाँबाट आएका होलान् ? परिवारका सदस्यहरु के काम गर्छन् ? उनलाई आड र भरोसा दिने अदृष्य शक्ति कहाँ छ ? यी र यस्ता अनेकौं प्रश्नको उत्तर नखोजेसम्म नेपालको घुसखोरी र भ्रष्टाचार नउखेलिने स्थानीय बुध्दिजीवीहरु बताउँछन् ।
एक जना शेर्पाले हदबन्दीभन्दा बढी जग्गा अंश बण्डा गरेको विषयमा उक्त घुस रकम लेनदेन भएको थियो । जग्गा अंशबण्डा गरेर लालपुर्जा लिने क्रममा राष्ट्रपतिद्वारा विभुषित महिला अधिकृत घुस रकमसहित फेला परेकी हुन् । हदबन्दीभन्दा धेरै जग्गा मिलाउन उनले लामो प्रक्रिया पूरा गरेर काम गरेको बताएकी थिइन् । लालपुर्जा लिने बेलामा कारोबार गरिएपछि उनी पक्राउ परेकी थिइन् ।
पक्राउ परेकी महिला अधिकृत इलामकी हुन् । उनका श्रीमान भने ताप्लेजुङमा सरकारी वकिल रहेको बताइन्छ । उनीहरुले पहिलेदेखि नै सेटिङमा यस्तो धन्दा गर्दै आएको र प्राप्त रकमले धेरैतिर व्यवसाय सञ्चालन गरेको निकटस्थहरुले बताए ।
टिप्पणीहरू