सातौं पटक गिनिज बुकमा नाम लेखाउने तरखरमा हरिचन्द्र
नेपाली सेनाका लेस नायक हरिचन्द्र गिरी सातौं पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारीमा जुटेका छन् । यसअघि विभिन्न ६ वटा विधामा विश्व कीर्तिमान राखिसकेका उनले यसपटक हातले टेकेर भर्याङको एक सय खुड्किला सबैभन्दा छोटो समयमा ओर्लिने विधाअन्तर्गत गिनिज बुकमा आफ्नो नाम दर्ज गराउने तयारी गरिरहेका छन् ।
काठमाडौंको बुढानिलकण्ठस्थित गुम्बामा तयारीका क्रममा हातले टेकेर भर्याङको एक सय खुड्किला ३८ सेकेण्डमा ओर्लिएको उनले बताए । यो रेकर्ड हाल ४५ सेकेण्डको छ । ‘मैले तयारी गर्दा ३८ सेकेण्डमा पूरा गरेको छु । तर,अब औपचारिक तयारीका लागि चीन जाने योजनामा छु,’ गिरीले भने । चीनबाट फर्किएपछि गिनिज बुकमा नाम लेखाउन आवश्यक प्रक्रिया थाल्ने उनको भनाइ छ ।
गिरीले सर्वप्रथम हातले टेकेर भर्याङको ५० खुड्किला १२.६५ सेकेण्डमा पूरा गर्दै बुकमा नाम लेखाएका थिए । स्विट्जरल्याण्डको केभिन डेलकोको नाममा रहेको सो रेकर्डलाई आफ्नो नाममा गर्दै गिनिज वर्ल्ड रेकर्डको यात्रा शुरु गरेका उनी त्यतिमै रोकिएनन् । मुलुकलाई विश्वमाझ चिनाउने हुटहुटी भएका उनले सन् २०२२ मे ४ मा अर्को रेकर्ड आफ्नो नाममा गरे ।
उनले आफ्नो खुट्टाको बीचमा फुटबल राखी हातले टेकेर सबैभन्दा छिटो ५० मीटर हिँड्ने नयाँ कीर्तिमान बनाए । झाङ सुआङको २६.९ सेकेण्डको कीर्तिमानलाई केही सेकेण्डले पछि पार्दै २५.५८ सेकेण्डमा रेकर्ड कायम गरे । त्यसलगत्तै आफ्नो खुट्टाबीच फुटबलको साथ हातमा सबैभन्दा छिटो १० मीटर हिँड्ने कीर्तिमान पनि बनाउन सफल भए ।
जुन ४.४९ सेकेण्डमा पूरा गरेका थिए । तीन वटा रेकर्ड कायम गरेपछि पनि अर्को रेकर्डको भोका रहेका गिरीले केबल २५.३ सेकेण्डमा हातमा ७५ वटा खुड्किला झरेर चौथो रेकर्ड कायम गरेका हुन् । पाँचौं पटक उनले गुड्ने अवस्थामा रहेको टायरमाथि एक मीनेटमा १२० पटक ‘स्किपिङ’ खेलेर रेकर्ड राखेका थिए ।
यसैगरी, केही समयअघि मात्रै लण्डनस्थित गिनिज वर्ल्ड रेकर्डको हेडक्वार्टरमा भएको पाँच सय मिलिलिटर कागतीको जुस हातले टेकेर उल्टो भई पिउनेमा पनि उनी पहिलो व्यक्ति बनेका हुन् । २४ सेकेण्डमै हातले टेकेर उल्टो भई जुस पिएर उनी छैंठौ पटक गिनिज वर्ल्ड बुकमा नाम लेखाउन सफल भएका थिए ।
टिप्पणीहरू