सिजी खुराफातमै बिजी

सिजी खुराफातमै बिजी

नियोसी ब्राण्डका भ्यानको आधिकारिक आयातकर्ता एम्बर मोटर्सले विवादास्पद व्यापारी तथा डलर अर्बपति विनोद चौधरीको सिजी मोटर्स प्रालिको मुद्दामा आफ्नो कुनै सरोकार नभएको बताएको छ । 

सिजी मोटर्सले नियोसी भ्यानको आयात,बेचबिखन र नामसारी अदालतले रोकेको भन्दै भ्रम फैलाएपछि एम्बर मोटर्सले खण्डनसहित खेद प्रकट गरेको छ । 

सिजी मोटर्सले चिनियाँ कम्पनी चोङछिङ कुवायुविरुद्ध करार विवादमा हालेको मुद्दामा पुस ८ गते जिल्ला अदालत काठमाडौंबाट भएको आदेशमा नियोसीको भ्यानमाथि समेत प्रतिबन्ध लगाएको भन्दै भ्रम फैलाएको एम्बर मोटर्सको ठहर छ । नियोसीसँग कुनै सम्बन्ध नै भएको मुद्दामा जोडेर भ्रामक खबर फैलाएकोप्रति उसले आपत्ति जनाएको छ ।  

‘हामीसँग कुनै सरोकार नै नरहेको पक्षहरुबीच करारको विवादमा भएको आदेशबाट सोही पक्षहरुविरुद्ध मात्र आदेश जारी भएको र हामीलगायतका अन्य तेस्रो पक्षविरुद्ध उक्त आदेश जारी नभएको सबैमा अनुरोध गर्दछौं,’ एम्बर मोटर्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सिजी मोटर्स प्रालि र चोङछिङ कुवायु प्रालिबीच भएको करार विवादमा मिति २०८२ पुस ८ गते सम्मानित जिल्ला अदालत काठमाडौंबाट नियोसी इलेक्ट्रिक भ्यानसमेत आयात, बिक्रीवितरण तथा नामसारी गर्न रोक लगाएको भनि सिजी मोटर्स प्रालिद्वारा गरिएको भ्रामक समाचार सम्प्रेषणप्रति हामी खेद व्यक्त गर्दछौं ।’

यस्ता भ्रामक खबरप्रति विश्वास नगर्न सचेत गराउँदै एम्बर मोटर्सले नियोसी भ्यानको बेचबिखनलगायत सेवा सुचारु रहेको जानकारी गराएको छ ।

टिप्पणीहरू