चुनावमा उठ्नेलाई नाम झिक्न विप्लवको पार्टीबाट अर्को निर्देशन

चुनावमा उठ्नेलाई नाम झिक्न विप्लवको पार्टीबाट अर्को निर्देशन

चुनावमा सहभागितालाई लिएर चर्को विवादमा फसेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा उम्मेदवारी मनोनयनसँगै थप कलह मच्चिएको छ । पार्टी नीतिविपरित संस्थापन पक्षले हिजो उम्मेदवारी मनोनयन गराएको भन्दै सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला कन्चनले असन्तुष्टी जनाएपछि आन्तरिक विवादले कलह निम्त्याएको हो ।

विप्लव समूहको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले चुनावमा जाने औपचारिक निर्णय गरेको थिएन । जम्माजम्मीमा परिस्थितिको आकलन गर्नेसम्म कुरा थियो । निर्णय पार्टीले आधिकारिक उम्मेदवार नउठाउने र कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवारी दिनसक्ने सम्मको कुरा थियो । साथै,देशभक्त र एमसीसीविरोधी उम्मेदवारलाई पार्टीले समर्थन गर्नसक्ने पनि बैठकको निर्णय थियो ।

तर,सो निर्णयविपरित संस्थापन (विप्लव-प्रकाण्ड) पक्षले केही स्थानीय तहमा उम्मेदवार उठाएपछि बाँस्तोलाले औपचारिक रुपमै विज्ञप्ति निकालेर विरोध जनाएका हुन् । पार्टीको नीति विपरित दर्ता गरिएका उम्मेदवारी फिर्ता लिन पनि उनले आग्रह गरेका छन् ।

गत चैतमा कपिलवस्तुमा सम्पन्न विप्लव समूहको आठौँ केन्द्रीय समिति बैठकमा महासचिव विप्लवले स्थानीय तहको निर्वाचन उपयोग गर्ने प्रस्ताव पेश गरेका थिए । तर,असहमतिको स्वर आएपछि उक्त प्रतिवेदन संशोधनसहित पास भएको थियो ।

बाँस्तोलासहित अर्का सचिवालय सदस्य हेमन्तप्रकाश वलीलगायत दर्जन केन्द्रीय सदस्यहरु चुनावमा जाने विप्लवको प्रस्तावको विपक्षमा उभिएका थिए ।

टिप्पणीहरू