सेनाका लागि नयाँ वर्षमा नजुरेको साइत

सेनाका लागि नयाँ वर्षमा नजुरेको साइत

नेपाली सेनाले कोरोना महामारीको बेला पनि सतर्कतापूर्वक मनाएको नयाँ वर्ष यसपालि त्यत्तिकै गुजारेको छ । वैशाख १ को अवसरमा सधैँजसो सेनाका भूतपूर्व अधिकृत तथा जवानहरू एक ठाउँमा भेला हुने चलन थियो । यस्तो जमघटमार्फत नेपाली सेनालाई बहालवाला र भूपूहरूबीचको सम्बन्ध प्रगाढ राख्न र लव्धप्रतिष्ठित व्यक्तिहरूसँग जनसम्पर्क र सम्बन्ध विस्तारमा सहयोग पु¥याएको थियो ।

त्यसो त सेनाले शिवरात्रि अर्थात् सैनिक दिवस र नयाँ वर्षको दिन आयोजना हुने यस्तो कार्यक्रममा नेपालस्थित विभिन्न कूटनीतिक नियोगमा कार्यरत राजदूत र सैन्य अधिकृतका साथै अवकाशप्राप्त सेनापति र जर्नेलहरूलाई काठमाडौंमा र अन्यलाई उपत्यका बाहिरका बाहिनी तथा गणहरूमा सहभागी गराउने परम्परा थियो । यस पटक नयाँ वर्षको शुभकामना आदानप्रदान आयोजना रोक्नुपर्ने खास कारण भने स्पष्ट हुन सकेको छैन ।

नेपाली सेनामा रुपान्तर हुनुपूर्व शामी सेनाले एक वर्षको अन्तरालमा राजारानीको उपस्थितिबीच विशेष साँस्कृतिक कार्यक्रममार्फत नयाँ वर्षको स्वागत गथ्र्याे । नेपाल प्रहरी र शाही नेपाली सेनाले वर्ष बिराएर मनाउने नयाँ वर्षको विशेष समारोहमा राजपरिवार र गन्यमान्यको उपस्थित हुने परम्परा थियो ।

गणतन्त्र घोषित भएपछि पनि महामहिम राष्ट्रपतिको प्रमुख आतिथ्यतामा मनाइँदै आइएको हो । जनसम्पर्कको लागि महत्वपूर्ण मानिएका यस्ता रणनीतिक कार्यक्रमहरू खर्च कटौतीका नाममा एकाएक बन्द गरिएबापत सेनाको मौलिक परम्परालाई ओझेलमा पार्ने काम थालिएको एक जना पूर्व सैनिक अधिकृतले जनआस्थालाई बताए ।

यस्तो बेला सेनाबीच एकअर्काका दुःख साँटासाँट, हालचाल सोधपुछ हुनुका साथै मनका बहहरू पनि पोखिने गरेका थिए । तर नयाँ वर्ष कार्यक्रम रोकिएपछि दुख बिसाउनी पनि रोकिएको चर्चा चल्न थालेको छ।

यसैबीच, ब्रिगेडियर जनरल कृष्णबहादुर जिसीले शनिबार बिहान केही स्वदेशी तथा अमेरिकी सेनालाई माउन्टेन फ्लाइट गराएका छन्। सो स्पेशल सैनिक फ्लाइटमा चार जना चालक दलका सदस्यसहित ४१ जना सहभागी थिए ।

तीमध्ये धेरैजसो अमेरिकी सैनिक अधिकृत भएको स्रोतले जनाएको छ । सहभागी विदेशी सैनिक अधिकृत नेपालमा आयोजित ब्यालेन्स नेल नामका संयुक्त सैन्य तालिममा सहभागी हुन आएका हुन्।

टिप्पणीहरू